क्रान्तिकारीमा जहिल्यै किचलो ! नेतृत्व छान्न ‘पार्टी हेडक्वार्टर’को भर

क्रान्तिकारीमा जहिल्यै किचलो ! नेतृत्व छान्न ‘पार्टी हेडक्वार्टर’को भर


काठमाण्डु – फौजी संगठन संरचनाबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रको भाृत संगठन अखिल क्रान्तिकारी पछिल्ला राष्ट्रिय सम्मेलनमा अनिर्णित हुँदै आएको छ । २०७८ असोजमा भएको क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको अध्यक्ष पञ्चा सिंह नाम सुनेर सम्पन्न भयो । सम्मेलनले नयाँ कार्यसमिति निर्वाचित गर्न नसकेपछि अध्यक्ष प्रचण्डले अध्यक्षका प्रत्यासीहरूलाई खुमलटार बोलाएर पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरेका थिए ।

सम्मेलनका प्रतिनिधिले संगठनको केन्द्रीय उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायत पदाधिकारीको नाम सुन्नै पाएनन् । अध्यक्ष प्रचण्डले तोकिदिएको अध्यक्ष सिंहको नाम जबरजस्ती घोषणा गरिए पनि अन्य पदाधिकारीको नाम भन्न खोज्दा होहल्ला भएर रोकियो ।

२२औं सम्मेलनले अध्यक्ष त पाएको थियो । तर यसपालि २३औं सम्मेलन अध्यक्ष नै नपाई स्थगित भयो । ‘देखाउने दाँत’ बन्यो प्राकृतिक प्रकोप । यससँगै नयाँ विधान पारित गर्दै नेतृत्व चयन गर्ने २३ सयभन्दा बढी प्रतिनिधिको भेला अनिर्णित बन्यो ।

सम्मेलन स्थगित भएको सूचनामा भनिएको छ, ‘अर्को सूचना जारी नभएसम्मका लागि बाँकी प्रक्रिया पूरा गर्ने प्रयोजनको लागि चालू रहेको २३औं राष्ट्रिय सम्मेलन स्थगित गरिएको व्यहोरा अध्यक्ष मण्डलको आज मिति २०८१ साल असोज १६ गते बसेको बैठकको निर्णय बमोजिम यस अनेरास्ववियु क्रान्तिकारीको सम्बन्धित सम्पूर्ण निकाय, पदाधिकारीहरू, सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण प्रतिनिधि लगायत सबैमा जानकारी गराउँदछौं ।’

बन्द सत्रमा छलफलका लागि प्रस्तावित विधान र प्रतिवेदनउपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दशैं अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबीच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

सम्मेलनको बन्दसत्र चलिरहँदा कुटाकुट र तोडफोडको अप्रिय स्थिति बन्यो । केन्द्रीय कार्यसमितिमा उम्मेदवार हुन २८, ३० वा ३२ वर्ष उमेर हद राख्ने विषय मतदानबाट टुंग्याउन पार्टी हेडक्वार्टरले निर्देशन दिए पनि मतदान हुन सकेन । बन्दसत्रमा मतदानको तयारी गर्नुपर्ने बेला कुटाकुट भयो । जसले गर्दा बन्दसत्र अगाडि बढ्न सकेन ।

मतदानमा सहभागी हुने प्रतिनिधिको विषयमा विवाद हुँदा सम्मेलन नै अनिर्णित बनेको अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष कैलाशचन्द्र गिरी बताउँछन् । ‘बाहिर हेर्दा उमेर हदकोे विषयले सम्मेलन स्थगित भएको देखिएला । तर विधानका विषयमा मतदानमा जानुपर्ने बेलासम्म प्रतिनिधि टुंगिएका थिएनन्, केन्द्रीय कार्यालयले समयमै प्रतिनिधिको टुंगो लगाएन,’ उनले भने ।

उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा २३औं राष्ट्रिय सम्मेलनबाट विधानमा समावेश गर्ने र २४औं सम्मेलनबाट लागू गर्ने गरी अगाडि बढाउन सकिने अवस्था रहेको उनले बताए । ‘प्रतिनिधि टुंगो नलाग्दा विधान नै पारित गराउन सकिएन,’ उनले भने, ‘अर्काेतिर यही सम्मेलनबाट उमेर हद लागू गर्नुपर्छ भन्ने आवाज उठ्यो र गिजोलियो ।’ केही जिल्लामा रहेको प्रतिनिधि विवादलाई कार्यालयले टुंग्याउन नसकी थाती राखेको थियो ।

‘यसरी नेतृत्व चयन नै नगरी सम्मेलन स्थगित हुँदा हामीमा सकारात्मक उत्साह हुने कुरा भएन, सम्मेलनमा सहभागी प्रतिनिधिबाट न नेतृत्व चयन भयो, न विधान पारित भयो । यसमा खुशी हुने अवस्था रहेन,’ उनले भने, ‘अब अध्यक्षमण्डल बनेको छ । अर्काे व्यवस्था नभएसम्म अध्यक्षमण्डलले सहजीकरण गर्छ । पुरानो कमिटी विघटन भइसक्यो ।’

क्रान्तिकारीको अध्यक्षमण्डलमा सातै प्रदेशका प्रदेश समिति अध्यक्षहरू सदस्य छन्, जसमध्ये सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर थापालाई अध्यक्षमण्डलको अध्यक्ष बनाइएको छ । अजृुन पौडेल, चन्द्र माङमुङ, पुष्कर शर्मा, मनसिं शाही, त्रिदिप गुरुङ, सीमा शाही सदस्य छन् ।

क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तथा प्रवक्ता जीपी मैनालीले अब पार्टी हेडक्वार्टरले निकास दिने बताए । ‘अब के गर्ने भन्ने विषयमा अध्यक्षमण्डलले गर्छ, पार्टी हेडक्वार्टरको जिम्मा भयो,’ उनले भने, ‘१९ जनामा को नेता भन्ने कुरा नमिलेको हो, १९ जना नहुँदा अखिल क्रान्तिकारी नबन्ने हुँदैन, झन् युवा मान्छे आइरहेका छन् ।’

केन्द्रीय कार्यालयले प्रतिनिधिको विवाद टुंग्याउन समय नपुगेको उनले बताए । ‘बाढी आयो, जनधनको क्षति भयो । २०० मान्छे मारिए, मौसम खराब भयो,’ उनले भने, ‘आजै हामी अध्यक्ष वा महासचिव हुनुपर्ने के थियो ? दशैंपछि नेतृत्व चयन हुन्छ ।’

संगठनमा उमेर हदको विषय प्रमुख नरहेको उनले बताए । ‘नेता बन्न उमेरले फरक पर्दैन, संगठनमा परिपक्व नेतृत्व चाहिन्छ,’ उनले भने, ‘खुला निर्वाचन गर्नुपर्छ, जतिसुकै उमेरले हुन पाउने हुनुपर्छ ।’

देशभरबाट भेला भएका क्रान्तिकारी विद्यार्थीहरूले मतदान गर्न नपाएपछि अब नेतृत्व चयनको विषय पार्टी हेडक्वार्टरमा पुगेको छ । यसपालि कतिपय जिल्ला र प्रदेशमा निर्वाचनबाट नेतृत्व चयन भए पनि संगठनको राष्ट्रिय सम्मेलनले निर्वाचन प्रक्रियालाई सहजै अगाडि बढाउन सकेन । जसले गर्दा सम्मेलन अनिर्णित हुँदै अनिश्चित बनेको छ ।