चैत मसान्तभित्र २४औं महाधिवेशन गर्ने अनेरास्ववियुको निर्णय

चैत मसान्तभित्र २४औं महाधिवेशन गर्ने अनेरास्ववियुको निर्णय


काठमाण्डु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी चैत मसान्तभित्र संगठनको २४औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको अनेरास्ववियुको १२औं सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारीका लागि आगामी माघ ६–८ गतेसम्म केन्द्रीय कमिटीको चौथो बैठक राखिने भएको छ ।

संगठनले स्ववियु निर्वाचन तयारीका लागि पुस २५ र २६ गते कार्यशाला राख्ने निर्णय गरेको छ । कार्यशाला काठमाण्डुमा हुँदैछ । कार्यशालामा देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षहरूको सहभागिता हुने संगठनले जनाएको छ ।

केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गरिने भएको छ ।

बुधबारकै बैठकले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा फागुन १५ गते तयारी बैठक राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयले तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने तथा दबाब सिर्जना गरी निर्वाचन सफल बनाउन सर्वपक्षीय छलफलको आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव तथा अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्टद्वारा प्रस्तुत ३५ बुँदे विश्वविद्यालय सुधारको माग तत्काल पूरा गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको संगठनका अध्यक्ष समिक बडालले जानकारी दिए ।