सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो

सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो


सुडान – सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ ।

सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का नौ विद्रोही समूहको गठबन्धन र खार्तुमका प्रतिनिधिहरूले फेब्रुअरी १५ सम्ममा वार्तालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी दिइएको भएपनि उक्त समयसीमाभित्र वार्ता नटुङ्गिएको तर केही प्रगति भएको भन्दै वार्तालाई जारी राख्न सोमबार दुवै पक्षले एउटा सम्झौतामा हस्ताक्षर गरेको छन् ।

एसआरएफका उपसभापति यासिर अरमानले एएफपीलाई भने, ‘शान्ति वार्ताका लागि यो नै अन्तिम विस्तार हुने आशा गरिएको छ । शान्ति सम्झौतालाई अन्तिम रूप दिन ‘महत्वपूर्ण कदमहरू’ चालिएको छ’, अरमानले भने ।

दक्षिण सुडानमा गत वर्षको अक्टोबरमा शुरू भएको शान्ति वार्ताले डार्फर, ब्लू नाइल र दक्षिण कोर्डोफानमा द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको छ जहाँ विद्रोहीहरूले बर्खास्त राष्ट्रपति ओमर अल बशिरको नेतृत्व कालमा पछाडि पारिएका अल्पसङ्ख्यक समूहहरूले ठूलो लडाई लडेका थिए ।

प्रधानमन्त्री अब्दाल्ला हमदोकको नेतृत्वमा सुडानको सङ्क्रमणकालीन सरकारले यी क्षेत्रहरूमा द्वन्द्वको अन्त्यलाई प्राथमिकता दिएपछि शान्ति सम्झौताका आशाहरू खडा भएका छन् ।

अहिलेसम्म दलहरू युद्धविराम, मानवीय पहुँच, भूमिसम्बन्धी मुद्दाहरू र द्वन्द्वबाट विस्थापितहरूको पुनःस्थापनाका बिषयमा सहमति भइसकेको बताइएको छ ।