सुदूरपश्चिम प्रदेशको बजेटमा सत्तारुढ दलकै असन्तुष्टि

सुदूरपश्चिम प्रदेशको बजेटमा सत्तारुढ दलकै असन्तुष्टि


धनगढी – संवैधानिक प्रक्रियाबमोजिम सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन सकेन । त्यसपछि बनेको मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ल्याएको पछिल्लो बजेट पनि विवादरहित हुन सकेन ।

शनिबार प्रदेश सभामा भएको बजेटमाथिको छलफलका क्रममा सत्तारुढ दलकै नेताहरूले बजेटको विरोध गरेका छन् ।

पछिल्लोपटक सरकारले भदौ ३१ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो । बजेटको विरोध सुनिएपछि सरकारले छलफल अगाडि बढाउन सकेको थिएन ।

प्रदेश सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बजेटमाथि असन्तुष्टि पोखे । ‘बजेटमा मेरो जिल्लाका पनि थुप्रै योजना परेका छन् तर ती योजनाको माग न त गाउँपालिका र नगरपालिकाबाट भएको थियो, न त मैले प्रस्तुत गरेको थिएँ । कताबाट आए यी योजना ?’ उनले सोधे ।

उनले बजेट निर्माण हुने ठाउँ कता हो भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । बजेटका कारण नेपाली कांग्रेस दार्चुलाले आफूलाई गृहजिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय नै गरेको जानकारी उनले बैठकमा गराए ।

सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य चक्रबहादुर मल्लले बजेटका लागि सरकारले सार्वजनिक गरेको ४ बुँदे अवधारणाअनुसार बजेट नआएको बताए । उनले बजेट ल्याउँदा कुरा एकातिर र काम अर्कोतिर भएको बताए ।

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य खुसीराम डगौरा थारुले बजेटमा थुप्रै कमजोरी भएको बताउँदै परिमार्जन गर्नुपर्ने माग राखेका छन् ।

‘अहिलेको बजेटले ५३ जना प्रदेशसभा सदस्यको भावना बुझ्न सकेको छैन, सबै प्रदेशबासीको बुझ्न सक्ने सम्भावना नै भएन, त्यसैले बजेट पुनर्लेखन हुनुपर्छ,’ उनले भने ।