भेन्टाइन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लाओसका उपराष्ट्रपति फांखाम भिफाभान्हबीच भेटवार्ता भएको छ ।
सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य समेत रहेका भिफाभान्हसंग विहिबार नेता नेपाल नेतृत्वमा लाओस भ्रमणमा रहेको नेपाली प्रतिनिधी मण्डलले भेटवार्ता गरेको हो ।
भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै द्धिपक्षिय हितका विषयमा सहकार्य गर्नुपर्ने धारणा राखे । उनले दुवै मुलुक भूपरिवेष्ठित देश भएको भन्दै आगामी दिनमा दुई पार्टीको सम्बन्ध पनि सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
उनले कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गरे ।
नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु भन्दै यस अवधिमा जनतामा आत्मविश्वास जागेको र विकासले सही दिशा पक्रिएको दावी गरे ।
उनले ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरुलाई उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी दुबै अति कम विकसित मुलुक हौं, भूपरिवेष्ठित छौं । हामीसंग पुंजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाईंहरुले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ ।’
वरिष्ठ नेता नेपालको नेतृत्वमा विहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी छन् । प्रतिधिनिण्डल माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया