काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित समुहका नेताहरुलाई लन्चसहितको गोप्य बैठक गराएकी छन् ।
बैठकमा पौडेल समुहमा रहेका नेताहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा शेखर कोइराला, केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत सहभागी थिए । पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समुहका नेताहरुलाई पेलेर एकलौटी ढंगले अगाडि बढ्ने संकेत गरेपछि सभापतिभन्दा इतर समुहका नेताहरु एकत्रित भएर बैठक भएको छ ।
बैठकमा आगामी दिनमा पार्टीमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । देउवालाई पेलेर जान कांग्रेसभित्रका वरिष्ठ नेताहरुले योजना बुन्न थालिसकेका छन् । भेटमा कांग्रेसको आन्तरिक राजनीति, नेविसंघको महाधिवेशनको अन्यौलका विषयका कुराकानी भइरहेको छ ।
साथै, सभापतिले उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्दा प्रक्रिया नपुर्याएको विषयमा पनि नेताहरुले आपत्ति जनाएका छन् । छलफलमा गत निर्वाचनमा टिकट बाँड्दा सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले मनोमानी गरेको गुनासो नेता पौडेलले गरेको बैठक स्रोतले बतायो ।
प्रतिक्रिया