आइतबारदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन सुरु, सेवाग्राही खुशी

आइतबारदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन सुरु, सेवाग्राही खुशी


काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरुका लागि आइतबारदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालेको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको हो ।

जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट आइतबार विहान १० बजेदेखि श्रम स्वीकृति दिने काम शुरु भएको हो । प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले बताए ।

प्रदेश कार्यालयहरुले सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेछन् । प्रदेशबाटै श्रम स्वीकृति दिने काम शुरु भएपछि सेवाग्राही खुशी भएका छन् ।

पहिलो सेवाग्राहीको रुपमा पुनः श्रम स्वीकृति लिन कार्यालय पुगेका धनुषा बउहर्वाका एमडी जिलानीले आफू निकै खुशी भएको बताए । ‘यसकै लागि काठमाण्डु जानुपर्दा निकै कठिनाई र खर्च हुँन्थ्यो’, उानले खुशी हुँदै भने, ‘अब त सजिलो भयो ।’ प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाण्डु धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।