सुन्धारास्थित कारागारमा क्षमता भन्दा दोब्बर बन्दीकैदी

सुन्धारास्थित कारागारमा क्षमता भन्दा दोब्बर बन्दीकैदी


काठमाडौँ – सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलको क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ । महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।

कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताउनुभयो । उनले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताए ।

विसं १९७१ मा स्थापना भएको उक्त कारागारको क्षमता एक हजार २५० भए पनि अहिले कारागारमा करीब दुई हजार ७५० कैदी र थुनुवा रहेको कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनले क्षमताभन्दा बढी कैदी रहेकाले कैदीलाई बस्न पनि समस्या भएको बताए ।

उहाँले भौतिक संरचनासमेत जीर्ण रहेकाले उक्त कारागारबाट अन्यत्र सारी कैदीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताए महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा भएकाले समस्या परेको बताए । “भौतिक संरचना साना भएकाले कैदी र थुनुवालाई अलगअलग राख्नुपर्ने भएको छ”, उनले भने, “पहिलेभन्दा कारागारको अवस्थामा सुधार भए पनि अझै स्वास्थ्य खानेपानी र बस्न खानमा समस्या रहेको छ ।”

महान्यायाधिवक्ता खरेलले प्रशासनिक र मुद्दाका मामिलामा समस्या देखिएको बताए । “समयमा कैदी र थुनुवाका फैसला नहुनेजस्ता समस्या देखिएका छन”, उनले भने, “अब ती समस्यालाई महान्यायाधिवक्ता कार्यालयले सम्बोधन गर्नेछ ।” उनले साउनदेखि कैदीलाई दिइँदै आएको रकम ६५ बढाउन थालिएको समेत जानकारी गराए ।

कार्यालयका शाखा अधिकृत श्रवणकुमार साहले कारागार ऐन–२०१९ र कारागार व्यवस्थापन नियमावली–२०२० अनुसार कैदी र थुुनुवालाई अलगअलग राख्ने हो भने समस्या समाधान हुने बताए । उक्त कारागार कार्यालयमा केन्द्रीय बन्दीगृहमा एक हजार ६४७, भद्र बन्दीगृहमा ७७० र महिला बन्दी गृहमा ३२९ जना रहेका छन् ।

महिला बन्दीमा बसिरहेकी शारदा श्रेष्ठले महिलामाथि फितलो अनुसन्धान गरेर फसाउन थालिएकाले धेरै महिला निर्दोष भएर बन्दी जीवन बिताइरहेको गुनासो गर्नुभयो । उनले धेरै निर्दोष महिला कारागारमा परेको हुनाले महिलाका बारेमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताए ।अर्का बन्दी पासाङ तामाङले खानेपानी, स्वास्थ्य र बस्नका लागि समस्या भएको बताए ।

उनले वर्षा हुनासाथ बस्ने ठाउँमा पानी चुहिने गरेको बताए । बन्दी जीवनमा मनोरञ्जन गर्नका लागि साधनसमेत नभएको उनको गुनासो छ । कारागारमा ३५० जना विदेशीमध्ये २६ जना महिला रहेका छन् । विदेशीहरु बढीजसो लागुऔषध कारोवार र प्रवेशाज्ञा अनुमतिपत्र सकेर नेपाल बसेकाहरु रहेका छन् । रासस