मन मिल्ने जीवन साथीको खोजीमा गायिका सुनिता दुलाल

मन मिल्ने जीवन साथीको खोजीमा गायिका सुनिता दुलाल


नरेन्द्र रौले

काठमाण्डु – जब तीज नजिकिदै जान्छ, गायिका सुनिता दुलाललाई दशैं–तिहार आए झैं लाग्छ । तीज विशेष कार्यक्रमहरूमा दिदी, बहिनीहरूलाई नचाउन पाउँदा उनलाई छुट्टै आनन्दको महशुस हुन्छ । झन् उनका गीतका शब्द–शब्द दिदीबहिनीहरुले गाउंदा त झनै सुनिताको खुसीको सीमा नै रहँदैन । त्यो नै आफ्नो सम्पत्ति हो जस्तो लाग्छ सुनितालाई ।

तीज आउनु ६–७ महिनाअघिदेखि नै सुनिता नयाँ गीतको तयारीमा जुट्छिन् । उनलाई विशेष केही गर्नुपर्छ भन्ने लाग्छ । देश, विदेशका कन्सर्टहरुमा त ७–८ महिना अगाडी नै उनको ‘सेड्युल बुक’ भईसकेको हुन्छ ।

हरेक जसो तीजमा देश, विदेशका ६–७ वटा कार्यक्रम भ्याउने उनलाई यसपाली भने अलि खल्लो लागेको छ । पहिले नै निर्धारण गरिएका ६ वटा विदेशका कार्यक्रमहरु कोरोनाले गर्दा स्थगित भएका छन् ।

तर, तीजको नयाँगीत भने आउने पक्का भएको छ । केही दिनमै गायक खुमन अधिकारीसँग स्वर भरेको उनको नयाँ गीतको भिडिओ सार्वजनिक हुँदैछ । जुन पहिले भन्दा फरक हुनेछ ।
जाउ बरु सँगै खोरिया फाडम्ला
दुःख र सुख संगसँगै बाडम्ला
दहीको ठेकी बोकेर बेसी मेलैमा
नजाउ न माया देसि रेलैमा

निरास भएर विदेसिन आँटेको केटालाई स्वदेशमै बस्न बिन्ती गर्दै मायालुले मोहनी लगाएको भाव समेटिएको छ, सुनिताको नयाँ तीज कोसेलीमा ।

सुनिता सिन्धुपाल्चोकको जलविरे, बलेफीमा जन्मिईन् । जलविरेमा शिवालय थियो । तीजका बेला आफ्नो आमा र भाउजुसँगै सुनिता त्यही पुग्थिन् । त्यो गायिका बन्नु अघिकै प्रसंग हो । गायिका बनिसकेपछि त उनका अधिकांश तिज महोत्सव र कन्सर्टहरूमै बिते । उनी तीजमा ब्रत त बसिन् । तर, फलफूल र जुस पिएर । निराहार कहिल्यै बसिनन् ।

सुनिताको सांगितिक यात्रा

२०६० तिरै हो, सुनिताको पहिलो गीत रेकर्ड भयो– मायालुले झल्को दिईरहने । त्यसपछि रेकर्ड गरिएको तीज गीत – अब त मैले नि झुम्का लगाउँछु । त्यसपछि हो, उनलाई महोत्सवहरुबाट निम्तो आउन थालेको । सिन्धुपाल्चोकको चौतारामा नेत्रहिन संघ, सिन्धुपाल्चोकले आयोजना गरेको महोत्सबमा उनले पहिलो पटक भाग लिईन् । सूरूमा १८ हजार रूपैंयाँ पारिश्रमिक माग गरे पनि पछि उनले पारिश्रमिक नै लिईनन् ।

तर, त्यसै दिन कतारबाट सुनितालाई कन्सर्टको निम्तो आयो । एउटै शो को ६५ हजार रुपैंयाँ पारिश्रमिक लिईन् । एकै दिन दुई वटा शो गर्ने अवसर मिल्यो । त्यसपछि त विदेश जाने ढोकाहरू क्रमशः खुल्दै गए । भ्याई, नभ्याई हुन थाल्यो । दोस्रो र तेस्राेमा सिंगापुर, अमेरिका पुगिन् ।

लोक, आधुनिक, दसैं, तिहारका गीतमा स्वर भरेपनि सुनितालाई विशेषगरी तीजकै गीतले चर्चामा ल्यायो । अहिलेसम्म उनी ३५ देश र स्वदेशका कुना–काप्चामा पुगिन् । मुखैमा चिनी, आमाले पकाको मीठो दर खान, नाँचौ सरर, मायालाई के दिउँ म, झम्के फूली जस्ता उनका चर्चित गीत सार्वजनिक भईसकेका छन् । सुनितालाई पुरानो पुस्ताका गायक, गायिकाका गीतले बढी छुन्छ । अरुणा लामा, नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमानराज भण्डारी, जयनन्द लामा, तारा थापा, मीरा राणाका कालजयी गीत सुन्दा बढी आनन्द लाग्छ ।

उदय–मनिला सोताङको जोडीले गाएका गीतहरु उनको मस्तिष्कमै बसेका छन् । घरीघरी उनलाई दोहोर्याउँदै सुन्न मन पर्ने केही गीतहरु छन्– यति चोखो यति मीठो दिउला तिम्लाई माया, आधि बाटो हिंडेपछि तिमीसँग भेट भयो…..।

नयाँ पुस्तामा मेलिना राई, समीक्षा अधिकारी, सुगम पोखरेलको आवाजले उनलाई विशेष तान्छ ।

महोत्सव र घुमघाम

महोत्सव र कन्सर्टका लागी सुनिता ३५ देश पुगिसकेकी छिन् । उनी नेपालका धेरै जसो जिल्लाहरुमा पुगेकी छिन् ।
‘सबैभन्दा बढी कुन देश मन पर्यो ?’ उनले फ्याट्ट भनिन्, ‘नेपाल ।’

नेपालमा पनि सुदूर पश्चिम उनलाई बढी मन पर्दो रहेछ । सुदूरका बझाङ, महेन्द्रनगर, कैलाली, डडेल्धुरा स्म्म पुगेकी सुनितालाई त्यहाँको भाषा, आतिथ्य र खानपानले मन जितेको रहेछ ।

‘ठाउँ पनि निकै सुन्दर, छलकपट नगर्ने र चोखो माया गर्ने स्थानियले मन जित्यो,’ उनले भावि योजना सुनाईन् ‘कुनै दिन क्यामेरा बोकेर सुदूर पश्चिम घुम्ने मन छ ।’

स्वीट्जरल्याण्डको झ–झल्को आउँदा उनलाई मुस्ताङ पुग्न रहर लाग्छ । कुनै दिन समय मिले मुस्ताङ पुगेर एक महिना बस्ने उनको चाहना छ । सुनितालाई सोलुखुम्बु, जुम्ला, रारा र पाथीभरा कहिले पाइला टेकौं जस्तो भईरहेको छ । क्यामेरा भिरेर सुदूरपश्चिमका जिल्ला घुम्ने रहर पनि अहिलेसम्म अधुरै छ ।

खट्न सके तीजको एउटै सिजनमा २५, ३० लाख रुपैंयाँसम्म कमाई हुने उनको अनुभव छ । जे होस् बाँच्न पुग्छ । वर्षभरी खान पुग्छ । नेपाल भन्दा बाहिर पुग्दा राम्रो पारिश्रमिक पाईन्छ । स्वदेशबाट टाढिएका नेपालीहरुले माया र सम्मान पनि धेरै दिने उनको अनुभव छ ।

अहिलेसम्म इन्सुरेन्स, बैंक, सहकारी, बजाज बाइक, बिस्कुट, पेपर एड्को विज्ञापनमा उनले खेलेकी छिन् । एनसेलसँग डिजिटल एम्बेसडरका रुपमा उनले सहकार्य गरेकी छिन् ।

आफूले रोजेको पेशामा सुनिता एकदमै खुसी छिन । तर, संघर्ष त उनको जीवनमा पनि छ । कुनै समय गरेको मिहिनेतले नै उनलाई आज यहासम्म पुर्याएको हो । एसएलसी दिएपछि उनले स्कुलमा पढाउने काम पनि गरिन् । एफएम रेडियो र टेलिभिजनमा पनि कार्यक्रम सञ्चालन गरेको अनुभव छ उनीसँग ।

विहान आफू पढ्न जाने, दिउंसो पढाउने र रेडियो र टेलिभिजनमा कार्यक्रम चलाउने दौडधुपबीच उनका पाँच वर्ष बिते । प्रतिष्पर्धीहरु धेरै थिए । सहकर्मीहरुसँगका राम्रा, नराम्रा दुबै अनुभव छन् उनीसँग । उनका दाई घमेश दुलाल पनि गायक नै हुन् । उनलाई दाईको नामले नै सहयोग पुग्यो । आवश्यक पर्दा सुनितालाई दाईले आर्थिक सहयोगदेखि अन्य धेरै सहयोग गरेका छन् ।

प्रेम र विवाह

पहिलो पटक ८ कक्षामा पढ्ने बेला सुनितालाई प्रेम पत्र आयो । उनले पनि त्यसको रेस्पोन्स दिईन् । एसएलसीपछि एउटा केटाले कलरफूल डायरी दिएको सम्झना उनको मनमा अझै ताजै छ । त्यसमा केही सायरी पनि कोरिएका थिए । जुन डायरी अहिले पनि उनले जतनसाथ राखेकी छिन । जीवनमा खासै उनको कसैसँग गहिरो प्रेम बसेन । जीवनमा सुनितालाई कहिल्यै एक्लो भएको अनुभुति भएन । सबैजना परिवारका सदस्य साथमै भएर रमाइलो, हाँसिखुसीका साथ बित्यो ।

अब त सिधै विवाह गर्ने मुडमा छिन् सुनिता । मन मिल्ने केटा, जसले विश्वास गरोस्, सम्मान गरोस् । मायालाई त उनले तेस्रो नम्बरमा राखेकी छिन । धन, सम्पत्तिलाई त प्राथमिकतामै राखेकी छैनन् । अहिले उनले केटाको क्वाइलिटी खोजेकी छैनन् किनकी उनलाई मनमिल्ने जीव्न साथीको खांचो छ ।

यसअघि जीवनमा कसैसँग विवाह गरिहाल्न पाए भन्ने उनलाई लागेन । त्यतातिर ध्यान नै गएन । उनलाई लाग्यो– विवाह संवेदनशील कुरा हो । लङलास्टिङ हुनुपर्छ । पछि छुट्दा राम्रो हुन्न । ढिला होस् । तर, कहिल्यै नछुटोस् । एक अर्कामा बुझाई र सम्मान रहिरहोस् ।

सुुन्दरताकी धनी सुनितालाई चाहनने केटाहरुको कमी भने छैन् ।  सुनिताले सुनाइन्, ‘दर्शक, श्रोताहरुको माया छ । यहि बाँच्ने माहोल छ ।’

कसैले तारिफ गरेपनि यो कुराले उनलाई खासै म्याटर गर्दैन । यस्तो कुराले सकारात्मक उर्जा त दिन्छ । तर, उनलाई बढी तारिफ, प्रशंसाले फुर्क्याउँदैन ।

सुनिताका आनिबानी

‘म जिद्धि छु । तर, कसैको मन दुखाउँदिन’, सुनिता भन्छिन्, ‘अरुले हेपेको सहन्न । कसैलाई अन्यायमा पनि पार्दिन ।’

उनलाई आफ्नै बाटो हिंड्न र आफ्नोबारेमा आफैं निर्णय गर्न मन लाग्छ । कसैको डर, त्रास र धम्कीले उनलाई छुँदैन । रिसाउने, झर्किने उनको स्वभाव नै छैन ।

सुनिताका रहर

सुनितालाई चलचित्रमा नायिकाको अफर भने नआएको होइन् । तर, उनलाई डान्स र अभिनय राम्रो गर्छु जस्तो लाग्दैन । बरु चलचित्रका लागी गीत लेख्छु भन्ने चांहि लाग्छ । यसपाली लकडाउनमा त उनको अधिकांश समय चलचित्र हेरेरै बिताइन् । दिनमै ७, ८ वटा चलचित्र हेरेरै उनले समय बिताईन् । उनी लभ स्टोरी र समसामयिक चलचित्रहरु हेर्न रुचाउँछिन् ।

सुनिताको लाइफ स्टाइल

सुनिता रहेक विहान प्रायः ६, ७ बजेतिर उठ्ने गर्छिन । त्यसपछि आफ्नो नित्यकर्म सकेर आफ्नो काममा लाग्छिन ।

सुनिता हरेक मंगलबार गणेशजीको व्रत बस्छिन । धर्मकर्ममा आस्था राख्ने उनलाई मन्दिर पुग्दा मनमा शान्ति र आनन्दको महशुष हुन्छ ।

सुनितालाई विशेषगरी लुगा, ब्याग, घडी, जुत्ता किन्न मन लाग्छ । सारी र क्याजुअल लुगा लगाउन उनलाई अझ मन पर्छ । अहिलेसम्म उनले किनेका मध्ये सबैभन्दा महंगो सामान औंठी हो । जुन अमेरिका पुग्दा ९ लाख रुपैंयाँमा किनिन् । नाकको फूली हङकङ पुग्दा ५ लाख रुपैंयाँमा किनेकी थिइन् ।

ब्युटीपार्लर कमै जाने कलाकारमा पर्छिन् सुनिता । फेसियल गर्न र हेभी मेकअप गर्न खासै धेरै मन पर्दैन उनलाई । बरू मेकअपका सामान किनेर आफै सिंगार्न मन लाग्छ । कतै इमरजेन्सी सुटिङ वा बिशेष कार्यक्रममा जा“दा उनले मेकअप आर्टिस्ट अरुणा घिमिरे र सोफी सुनुवारको सहयोग लिन्छिन् ।

झण्डै २७ लाख रुपैंयाँ पर्ने सुजुकीको सेलेरियो गाडीमा हुँइकिन्छिन् उनी । आइफोन १० एक्सएस म्याक्स बोक्छिन् । सबैजसो सामाजिक सञ्जालमा सक्रिय गर्ने सुनिता पेज र एकाउन्टहरु आफैं चलाउँछिन् ।

सुनितालाई फरक–फरक रेस्टुराँमा गईरहन मन लाग्छ । खानामा फापरको रोटी, ढिंडो, योमरी, बारा उनलाई एकदमै मनपर्छ । नेवारी परिकारको स्वाद उनको जिब्रोमै झुन्डिएको छ । यसबाहेक उनलाई थाई, जापनिज, कोरियन सबै परिकार चाख्न मन पर्छ । साल्मोेन फिस उनको प्रिय आइटम हो ।

लामो कुराकानीपछि खाइलाग्दो ज्यानकी गायिका सुनितालाई सोधियो
‘जीवनमा के गर्ने सपना छ ?’
‘राम्रो सांगितिक कोसेली पस्किने ।’
‘दोस्रो रहर ?’
‘बिहे गर्ने ।’

‘परिवार भयो भने साथ मिल्छ,’ मन्द मुस्कान छर्दै उनका ओठहरू खुले, ‘खुसी पनि मिल्छ ।’