सुदूरपश्चिम सरकारद्वारा ३१ अर्ब ६२ करोडको बजेट प्रदेश सभामा पेश

सुदूरपश्चिम सरकारद्वारा ३१ अर्ब ६२ करोडको बजेट प्रदेश सभामा पेश


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको छ ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार आगामी आर्थिक वर्षका लागि साढे ३१ अर्बभन्दा बढीको बजेट ल्याएका छन् ।

दिउँसो ४ बजेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभामा करीब डेढ घण्टा लामो भाषणमार्फत उनले आगामी वर्षको बजेट पेश गरेका छन् । असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

आगामी आर्थिक वर्षदेखि प्रदेशको आम्दानी बढाउनका लागि करका दर समेत हेरफेर गरिएका छन् । उनले घरजग्गा लगायत क्षेत्रको करका दर हेरफेर गरेका छन् । उनले टाँगा र रिक्सा जस्ता यातायातका साधनमा समेत कर लगाउने र स्थानीय तहसँग बाँडफाँट गर्ने व्यवस्था गरेका छन् ।

कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री पालले जानकारी दिए ।