आजदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ छन् ? कति रुपैयाँ छुट पाइन्छ

आजदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ छन् ? कति रुपैयाँ छुट पाइन्छ


काठमाण्डु–दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलाई लक्षितगरि सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरेको हो।

४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने छ ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन्। उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।

उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनले भ्याए ठाँउमा सहुलियत पसल खोल्ने छ ।

सहुलियत मूल्य पसलमा विभिन्न प्रकारका दाल र चामलमा प्रतिकेजी ५ रुपैयाँ कम मूल्यमा पाइने छ । त्यस्तै तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी–प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ।

यसैगरी कर्णाली सिमी–गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ।

कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ।कम्पनीले सुपथ मूल्य पसलका लागि १५ सय खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने भएको छ ।

खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथली काठमाडौं परिसरबाट घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बिक्री गरिनेछ।

आगामी माघ २ सम्म सञ्चालन हुने सुपथ मूल्य पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ।