काठमाण्डु – क्यासिनो व्यवसायी सुरेन्द्रबहादुर सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको छ । क्यासिनो व्यवसाय संचालन गरिरहेका सिंहविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।
कन्चनपुर चाँदनी ६ घर भई सुकेधारा बस्ने सिंह काठमाण्डौ,नेपालगंज र महेन्द्रनगरमा क्यासिनो संचालन गर्दै आएका छन् । उनि सुरुमा क्यासिनोमा कामदारका रुपमा छिरेका थिए । तर, पछि उनले माओवादीको बलमा क्यासिनोबाटै पैसा कमाएका थिए । उनले माओवादीकै बलमा अरुको सम्पति हडपेको भन्दै उजुरी समेत परेको थियो ।
सिंहविरुद्ध उजुरी परेपछि उनको विभागले छानविन गरेको थियो । सिंहले अवैध विदेशी मुद्राको कारोबार, जुवालगायतका गैरकानूनी कारोबारबाट सम्पत्ति आर्जन गरेको आरोप छ । विभागको प्रारम्भिक अनुसन्धानले उनको सम्पति गैरकानुनी रहेको ठहर गरेपछि उनिविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर भएको हो ।
सिंहले २७ करोड ६७ लाख ७८ हजार ६५६ रुपैयाँ आर्जन गरेको देखिएको छ । उनिविरुद्ध विभागले सोही बराबरको बिगो कायम गरी मुद्दा दर्ता गरेको हो । उनले विभागमा सम्पतिको स्रोत देखाउन नसकेका हुन् । उनको सम्पति पत्नी शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा छ ।
सिंहविरुद्ध अवैध मुद्राको कारोबारसम्बन्धी कसूर, जुवासम्बन्धी कसूरमा समेत अदालतमा मुद्दा विचाराधीन रहेको विभागले जनाएको छ । विभागले उनको पत्नी र छोराको नाममा रहेको सम्पत्ति समेत रोक्का गर्न माग गरेको छ ।
सिंहको अवैध कारोबारमा सहयोग गरेको भन्दै विभागले जयन्ती थापा मगरलाई पनि प्रतिवादी बनाएको छ । मगरमाथि गिल्ट इन्भेष्टमेन्ट प्रालि २५ करोड रुपैयाँमा खरिद बिक्री गरेको कारोवारमा संलग्नता जनाई सो कम्पनीको स्वामित्व समेत धारण गरी सिंहलाई सम्पति शुद्धीकरणको कसुर गर्नमा सहयोग गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया