सूर्यदर्शन सहकारी ठगीमा १९ जनाविरुद्ध मुद्दा दायर

सूर्यदर्शन सहकारी ठगीमा १९ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् ।

लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण सहितका अभियोगमा अनुसन्धान भइरहेकाले आईतबार मुद्दा दर्ता गर्ने तयारी छ ।

सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने र जोशी लगायतविरुद्ध अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो ।

सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए ।