रवि छुटेपछि सूर्य थापालाई छटपटी, १२ घण्टामा ३ स्टाटस !

रवि छुटेपछि सूर्य थापालाई छटपटी, १२ घण्टामा ३ स्टाटस !


काठमाण्डु-पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने रिहा भएपछि एमाले नेता सूर्य थापाले असन्तुष्टी जनाएका छन् ।

सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति पनि रहेका थापाले कास्की जिल्ला अदालतले लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतले दिएको आदेशप्रति असन्तुष्ट व्यक्त गरेका हुन् ।

रास्वपाका सभापति लामिछानेसहित सात जना प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाडेको थियो । लामिछानेसहित सबै प्रतिवादी धरौटीमा रिहा भएपछि थापाले बिहीवार रातिदेखि शुक्रवार बिहानसम्म सामाजिक संजाल फेसबुकमा तीन वटा फरक फरक स्टाट्स लेखेका छन् ।

लमिछाने रिहा लगतै थापाले बिहीवार राति ९ बजेर ३ मिनेटमा पहिलो स्टाटस लेखे । त्यसपछि बिहीवार राति १० बजेर ५ मिनटमा दोस्रो स्टाटस लेखे । यस्तै शुक्रवार बिहानै ५ बजेर ५४ मिटेटमा उनको तेस्रो स्टाटस आयो ।

थापाले पहिलो स्टाटसमा लामिछानेले सहकारीको रकमबाटै गोरखा मिडिया नेटवर्कमा ७५ लाख सेयरबापत भुक्तानी गरेको खुलासा गरेका थिए । उक्त आदेशमा रवि लामिछानेबारे लेखिएको पृष्ठको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्,‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको सेयरबापत भुक्तानी गरेको खुलासा ।’

त्यस पछि दोस्रो स्टाटसमा थापाले कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । थापाले लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ । त्यस निम्ति ७३ नं. को व्यवस्था मौजुद नै छ ।’

शुक्रवार बिहानै तेस्रो स्टाट्स पनि लामिछाने लक्षित लेख्दै उनले भनेका छन्, ‘कास्की अदालतले धरौटीमा छाडे पनि अझै काठमाडौँ, रुपन्देही, चितवन र पर्सामा सुनुवाइ बाँकी नै छ ।’

धरौटीमा रिहा हुनुलाई रवि–समर्थकले सफाइ नै पाएजस्तो प्रचार गरिरहेको भन्दै थापाले आक्रोश पनि पोखेका छन् । ‘६५ लाख धरौटीमा रिहा– सफाइ–चचहुई’, थापाले लेखेका छन्, ‘रवि कसुरदार छैनन् भन्ने आधार देखिएन– हिहि ।’ उनले स्मरण गराउँदै अगाडि लेखेका छन्, ‘काठमाडौँ, बुटवल, चितवन र वीरगन्ज– सुनुवाइ छ कि !’