काठमाण्डु– सहकारी ठगी आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा प्रमाणबारे आरोप लगाएपछि एमाले सांसद सूर्य थापाले त्यसको जवाफ फर्काएका छन् ।
सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति रहेका थापाले तथ्य, तर्क र आधार नभएपछि आफूविरुद्ध लामिछानेले गालीगलोजको सहारा लिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सांसद थापाले लेखेका छन्, ‘क्लिन चिट’को भ्रम र ‘प्रतिशोध’को नाममा कपटपूर्ण नाटकसँगै मेराविरूद्दको ‘हेट क्याम्पियन’ र ‘गालीगलोज’ पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालसमक्ष छताछुल्ल पोखिएछ।’
लामिछानेले बिहिबार कास्की जिल्ला अदालतमा म्याद थप्न पुर्याइएका बेलामा थापाले लेखेको ‘स्क्रिप्ट’ अनुसार सरकारबाट आफूमाथि व्यवहार भइरहेको आरोप लगाउँदै भनेका थिए, ‘यहाँ–यहाँ पुर्याइन्छ, यो–यो ठाउँ घुमाइन्छ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आकर्षित हुन्छ भनेर उहाँ (थापा) ले मिडियामा भन्दै हिँड्नुभएको थियो । त्यही स्क्रिप्टअनुसार अहिले छायांकन भइरहेको छ । अहिले मध्यान्तर भएको छ । यो योजनाबद्ध तरिकाले लेखिएको कथा हो । यो सबै लेखक सूर्य थापाको कर्तुत हो ।’
थापाको ‘स्क्रिप्ट’ अनुसार सरकार चल्दा अदालत मूकदर्शक भएको अभिव्यक्ति लामिछानेले इजलाशमा दिएपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौड्यालले सतर्क गराएका थिए ।
त्यसको जवाफ दिँदै थापाले संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाउँदा नबुँझाउदै सिर्जना गरिएको भ्रमको तुवाँलो चिरेर समाजलाई स्पष्ट पार्न र प्रतिवेदनको समग्र पक्ष, निष्कर्ष, सुझाव र सिफारिसको प्रतिरक्षा गरेर आफुलाई प्राप्त जिम्मेवारीको निष्ठापूर्वक परिपालना र कर्तव्य निर्वाह गरिएको र प्रतिवेदन सभापतिसहित सातै जना सदस्यको सर्वसम्मतिले पारित साझा स्क्रिप्ट रहेको तथ्य जगजाहेर रहेको उल्लेख गरेका छन् ।
लामिछाने थापा नेतृत्वको समितिको प्रतिवेदनमा गरिएको सिफारिसु अनुरुप सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले कात्तिक २ गते काठमाण्डुबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया