काठमाडौं – आइतबार काठमाडौंमा सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन्।
जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै उनले सुशासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न महान्यायाधिवक्ता र मातहतका निकायलाई आग्रह गरे। समाजलाई अपराधमुक्त बनाउन प्रभावकारी अनुसन्धान गरी अभियोजनमा जानुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री ओलीले चुनावमार्फत मुलकमा राजनीतिक स्थिरता र स्थायित्व कायम भएकाले अस्थिर राजनीतिमा चलखेल गर्ने सबै किसिमका क्रियाकलाप अन्त्य भएको दाबी गरे । विकास र सम्बृद्धि हासिल गर्ने सवालमा सरकारसँग स्पष्ट दृष्टिकोण सहितका नीति भएको पनि उनले उल्लेख गरे ।
३ दिनसम्म चल्ने सम्मेलनमा फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा छलफल गरि साझा धारणा तय गरिनेछ । सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्ता सहित ३ सय ७९ जना सरकारी वकिल र ८० बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी छन् ।
प्रतिक्रिया