काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । २०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त भएका उनले शुक्रवार राष्ट्रपति समक्ष बुझाएको राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा सभामखु चयन विषयलाई लिएर रहेको बुझिएको छ । प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले अर्जुन लामाको हत्याको आरोप लागेका सापकोटामाथि अनुसन्धान गर्न आदेश दिएको थियो । तर सापकोटामाथि प्रहरीले अनुसन्धान नगरेको भन्दै उनले २०७२ चैतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
राजीनामा दिँदै उनले भनेका छन्, ‘संघीय लोकतान्त्रीक गणतन्त्रलाई मजबुत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्मान्यता र कानुनी सर्वोच्चताको अक्षरश कार्यान्वयनका लागि शासकीय मामिला औपचारिकताको परिधिभन्दा बाहिर अझ बढी सक्रियापूर्वक सहभागिता जनाउनुपर्ने अनुभुत गरेर आजैका मितिदेखि पदबाट राजीनामा दिएको छु ।’
सर्वोच्च अदालतमा हाल सापकोटासँग जोडिएका तिन मुद्दा फैसला हुन बाँकी नै छन् । यी सबै संवैधानिक इजलाससँग जोडिएका छन् । यसमा कनकमणि दीक्षितविरुद्ध सापकोटाले दर्ता गरेको अदालतको अवहेललना मुद्दा, सापकोटा विरुद्ध अर्जुनकी श्रीमती पूर्णिमाया लामाले दर्ता गरेको उत्प्रेषण मुद्दा र २०७२ चैत २६ गते सुशील प्याकुरेलसहित ८ जनाले दर्ता गरेको उत्प्रेषण मुद्दा रहेका छन् ।
प्रतिक्रिया