क्लबमा आफूमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की

क्लबमा आफूमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की


काठमाण्डु – नायिका सुस्मा कार्कीले आफुमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

नायिका सुस्माले सोमबार काठमाण्डुको लण्डन पब क्याफेमा आफुमाथि कुटपिट भएको भन्दै मंगलबार महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी हुन् ।

दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले वृतमा ठाडो उजुरी आएको पुष्टि गरे । उनले दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिए ।

काठमाण्डु प्रहरी परिसरका एसपी रमेश बस्नेतका अनुसार सुस्माले आफुलाई आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

आरती नायिका स्वेता खड्काकी बहिनी हुन् । आरती र उत्सवले आफुलाई कुटपिट गर्दा स्वेता र उनका पति विजयन्द्र पनि साथमै रहेको सुस्माले बताइन् । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले पनि आफूविरुद्ध अपशब्द प्रयोग गरेको उनले बताइन् ।

‘उत्सवसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो । त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द बाले । त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लुछिन् । मसँग फुटेज छ,’ उनले भनिन् ।

उनले आफुमाथि भएको दुर्व्यबहारको प्रमाणस्वरुप भिडियो क्लिपहरु प्रहरीलाई दिएको बताइन् ।