काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा धेरै ठाउंमा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।
स्वतन्त्र उम्मेदवारहरूले केही ठुला क्याम्पसमा त जित नै हासिल गरेका छन् भने कतिपय स्थानमा तीव्र प्रतिस्पर्धामा छन् । स्वतन्त्रको लहर चलिरहँदा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी श्रेष्ठले अखिल क्रान्तिकारीका रसिक लम्साललाई पराजित गरेका हुन् ।
यता पोखराको लामाचौरस्थित इन्जिनियरिङ क्याम्पसमा पनि स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भए । धामीले कांग्रेस,एमाले र माओवादी निकट विद्यार्थी संगठनलाई पाखा लगाउंदै इतिहांस राख्न सफल भएका हुन् ।
यस्तै, चितवनको रामपुरस्थित चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भएका हुन् ।
मंगलबार त्रिवि अन्तर्गतका ४२ आंगिकसहित करिब २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको हो । तर कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरूबीच भएको विवादका कारण मतदात स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा शुक्रबार निर्वाचन हुँदैछ ।
विश्वविद्यालय क्याम्पस चुनावमा सहभागी हुन २१ वटा संगठनले नाम दर्ता गरेका छन् । पदाधिकारीसहित सदस्यका लागि ८४ जनाको उम्मेदवार परेकोमा ६ जनाले फिर्ता लिएका छन् । त्रिविको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार उज्वल खड्काको चर्चा छ । लामो समय अखिलमा राजनीति गरेका खड्काले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका हुन् ।
खड्काको सपना
बझाङ घर भएका उज्वल खड्कालाई लागेको थियो विश्वविद्यालय प्राज्ञिक थलो मात्र होइन शैक्षिक अनुशासनकोे मन्दिर पनि हो । तर जब उनी मास्टर्स गर्न कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालय प्रवेश गरे त्यहाँको फरक अवस्था देखेर उनी अवाक् भए । त्यहाँ न त प्राज्ञिक बहस छ, न शैक्षिक सचेतना छ न त शैक्षिक अनुशासन नै छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाजुक अवस्था देखेर राजनीतिकशास्त्र स्नातकोत्तरका विद्यार्थी खड्काले यसलाई सुधार गर्नुपर्छ भन्ने कसम खाए । अनि लागे विश्वविद्यालयको सुधार गर्ने अभियानमा ।
यो निराशा र विकृत दलीय राजनीतिको चक्र तोड्ने सङ्कल्पका साथ ‘त्रिविलाई राजनैतिक हस्तक्षेप मुक्त गरौँ ’ भन्ने मूल नाराका साथ स्वतन्त्र उम्मेद्वारी दिएका खड्काले अन्य युवाहरू सँग प्यानल बनाएरै मैदानमा छन् ।
विश्वविद्यालय सुधार गर्ने अभियानलाई अझ दरिलो बनाउन खड्का त्रिविअन्र्तगतको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनलाई धेरै ठाउंमा स्वतन्त्र उम्मेदवारले जितेसंगै थप हौसला मिलेको छ ।
सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा उनको एउटै नारा छ त्रिविको शैक्षिक सुधार । उनी भ्रातृसंस्थाका उम्मेदवारलाई टक्कर दिँदै विश्वविद्यालय सुधारको खाकासहित मैदानमा उत्रिएका छन् ।
विश्वविद्यालयमा रहेको चरम राजनीतिक हस्तक्षेप अन्त्य हुनु नै उनको उम्मेदवारीको पहिलो शर्त हो । त्रिवि अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक थलो र अनुसन्धानको केन्द्र बन्नुको सट्टा राजनीतिक हस्तक्षेपको विकारबाट ग्रसित भएको उनले बताए । विश्वविद्यालय सुधार गर्न प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनी भन्छन् , ‘विश्वविद्यालयका विद्यार्थी मात्र होइन, कर्मचारी, प्राध्यापक सबै दलका भए ।’
त्रिविका अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउनुपर्ने योजना उनको छ । ‘अनुसन्धान केन्द्र पहिले चलायमान थियो । अहिले दलको कार्यकर्ता उत्पादन गर्ने केन्द्र बनेको छ’, त्रिविको निराशाजनक अवस्थाप्रति संकेत गर्दै उनले भने, ‘त्रिविको रुपान्तरण, गुणस्तरीय शिक्षा र संरचनाको सुधार मेरो योजना हो ।’
व्यवहारिक र प्राविधिक शिक्षालाई विकास गर्न समन्वय गर्ने योजना आफूसँग रहेको अध्यक्षका प्रत्यासी खड्काले बताए । त्रिविका पदाधिकारीहरू भागबन्डाबाट होइन, खुला प्रतिस्पर्धा र मेरिटोक्रेसीबाट चयन हुनुपर्नेमा खड्काको जोड छ ।
विद्यार्थी संगठनको सिन्डिकेट तोड्न आफ्नो उम्मेदवारी रहेको जनाउँदै उनी भन्छन्, ‘विद्यार्थी संगठनका गतिविधिले नकारात्मक सन्देश दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’
राजनीतीकरण र दोयम–क्षमताले थला परेको त्रिविलाई प्राज्ञिकता र मेरिटका आधारमा हुने नियुक्तिले मात्र सुधार गर्न सकिने उनको धारणा छ ।
प्रतिक्रिया