काठमाण्डु-सिरियाको राजधानी दमास्कसमा अहिले अन्योल र त्रासको वातावरण छ । विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा मानिसहरू वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन सकिरहेका छैनन् ।
राष्ट्रपति बशर अल–असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन् । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको छ ।
तर देशभरका विद्रोही समूहहरूले कब्जामा लिएका सहर, नगर र गाउँहरूमा सरकारी सेनाले त्यस्तो सुरक्षा प्रदान गर्न असफल भएको प्रस्टसँग देखिन्छ ।
नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले सिरियाको तेस्रो ठूलो सहर होम्सको केन्द्रभाग समेत कब्जा गरेको र राजधानी दमास्कसतर्फ अघि बढिरहेको बताएका छन् । उनीहरूले यसअघि नै दोस्रो ठूलो सहर अलेपो कब्जा गरेका थिए ।
कहाँ छन् असद ?
सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को ‘अरब स्प्रिङ’मा त जोगियो, तर देश गृहयुद्धमा डुबेको हो।
यतिबेला राष्ट्रपति बशर अल–असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन् ।
असद एक विमानमार्फत नाम दमास्कस छाडेको तर उनी गएको स्थान थाहा नभएको समाचार संस्था रोयटर्सले दुईजना सिरियाली अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।
राष्ट्रपति अशदको कार्यालयले त्यस्ता सबै खबरको खण्डन गर्दै उनी अझै दमास्कसमै रहेको र नियमित रूपमा आफ्नो काम गरिरहेको जनाएको छ । तर त्यसको सङ्केत भने देखिएको छैन ।
सिरिया यतिखेर एक विभाजित देशका रूपमा छ जहाँ वर्षौँ लामो गृहयुद्धको गहिरो घाउ अझै निको हुन सकेको छैन । त्यहाँ करिब डेढ साता अघिसम्म झण्डै चार वर्षदेखि कायम गरिएको एकखाले गतिरोध र यथास्थिति थियो ।
देशमा चलिरहेको गृहयुद्धबीच राष्ट्रपति असदको आफ्ना अरब नेताहरूसँगको सम्बन्ध क्रमशः सुधार भए तापनि सिरियाभित्र युद्धपछिको अवस्थामा जनताको सुखद भविष्य निर्माण गर्ने दिशामा कुनै प्रगति भएको देखिएन ।
वर्षौँको घातक द्वन्द्वका बाबजुद राष्ट्रपति असद स्थिर रूपमा देशको सत्तामा रहनुले त्यहाँ उनको पकडको छाप देखाउँछ । यदि उनले अहिले यस परिस्थितिको सामना गर्न छाडे भने त्यहाँ फेरि शक्ति शून्यता देखा पर्नेछ । त्यस्तो शून्यताको पूर्ति कसरी होला भन्ने कसैलाई प्रस्ट थाहा छैन ।
उनको स्थानमा सत्ता हात पार्ने प्रतिपक्ष एक ठाउँमा छैन र त्यहाँ कायम रहेका विद्रोही समूहहरूबिच विभाजन र झगडाको विगत छ । राष्ट्रपति असद विरुद्धको पछिल्लो विद्रोहको नेतृत्व गर्ने समूहको जग अल–कायदाको अतिवादमा आधारित छ ।
यसका नेताले सिरियाका समुदायहरूलाई आफ्नो विचारधारा उनीहरूमाथि नलाद्ने भन्दै आश्वस्त पार्ने प्रयास गरिरहे तापनि जनतामा अब के होला भन्ने चिन्ता छ
सिरियाको अवस्था झन् बिग्रने र आमजनताको पीडा बढ्न सक्ने व्यापक चिन्ताबिच कैयौँ समूहहरू आफ्नो नियन्त्रण कायम गर्न आपसमा लडिरहेका छन् । पहिले नै अत्यन्त अस्थिर र नाजुक क्षेत्रमा अब थप अस्थिरता बढ्ने देखिन्छ ।
तर यतिखेर कम्तीमा देश भित्र र बाहिर बसिरहेका सिरियालीहरूले आफ्नो घर फर्कने आशामा एकताबद्ध छन् ।
त्यस्तो आशा असदको विरोध र उनीविरुद्ध असहमत देखिँदा उत्पन्न हिंसात्मक कारबाहीबाट सुरु भएको युद्धमा लामो समयदेखि हराएको थियो । बीबीसीको सहयोगमा
प्रतिक्रिया