सिरियाको ‘मानव वधशाला’, जहाँ दिइएको थियो हजारौँलाई यातना र मृत्युदण्ड

सिरियाको ‘मानव वधशाला’, जहाँ दिइएको थियो हजारौँलाई यातना र मृत्युदण्ड


काठमाण्डु-सिरियाको राजधानी दमास्कसबाट झन्डै ३० किलोमिटर उत्तरमा छ सानो नगर सैदनाय । यहाँ जेल स्थापना गरिएको छ । यो जेल सिरियाकै सबैभन्दा गोप्य र कुख्यात कारागारको रूपमा परिचित छ ।

सन् १९८० को सुरुमा निर्माण गर्न थालिएको यो जेलको सञ्चालन सिरियाको सैनिक प्रहरी र सैनिक गुप्तचर निकायले गरेको थियो । यो जेल १ दशमलव ४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । त्यहाँ पहिलो पटक सन् १९८७ मा बन्दीहरूलाई राखिएको थियो ।

सिरयाका राष्ट्रपति बशर अल–असदको सत्ता ढलेयता आफ्ना आफन्तको खोजी गरिरहेका सिरियाका सर्वसाधारण नागरिकहरू त्यहि जेल सैदनायतिर जान थालेका छन् । यो जेलमा असद परिवारले दशकौँसम्म आफ्नो सत्ताका विरोधीहरूलाई थुनेर राखेको थियो ।

अधिकारकर्मी समूहहरूले त्यसलाई ‘मानव वधशाला’का रूपमा चित्रित गर्दै आएका छन् । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता त्यहाँ हजारौँ मानिसहरूलाई बन्दी बनाइएको अनि यातना र मृत्युदण्ड दिइएको छ ।

जेलको संरचना यति गोप्य राखिएको छ कि त्यसको तस्बिरहरू लिन पनि प्रतिबन्ध छ । त्यहाँ पहिला खटेका सुरक्षाकर्मीहरू र थुनिएका बन्दीहरूसँगको कुराकानीका आधारमा मात्र उक्त गोप्य जेल कस्तो छ भनेर बुझ्न सकिन्छ । तर अधिकारकर्मी समूहहरू र अमेरिकाको विदेश मन्त्रालयले जेलबारे भित्री कुराहरू प्रकाशमा ल्याएका छन्। जेलमा असदको क्रूर र दमनकारी शासनको सङ्केतजस्तै बनेको छ ।

अधिकारकर्मी संस्थाहरूका अनुसार जेलमा सेता र रातो गरी दुईवटा भवन छन् । सेतो भवन मुख्यतया सत्ताप्रति बफादार नरहेको शङ्का गरिएका सैन्य अधिकारी र सैनिकहरूलाई राख्न बनाइएको थियो । रातो भवनमा रहेको मुख्य बन्दीगृह सत्ताविरोधीहरूका लागि थियो ।

रिहा भएका बन्दीहरूसँग कुराकानी गरेका अधिकारवादी समूहहरूका अनुसार दुई भवनमा १०,००० जना देखि २०,००० जनाजतिलाई राखिएको हुन सक्छ । आइतवारबाट सामाजिक सञ्जालमा फैलिएका भिडिओमा एउटा ठूलो निगरानी कक्ष देख्न सकिन्छ । त्यसमा जेलभित्र रहेका दर्जनौँ कोठा कैयौँ सीसीटीभी स्क्रीनमा देखिन्छ ।

सन् २०१७ मा एम्नेस्टी इन्टरनेशनलद्वारा प्रकाशित एउटा प्रतिवेदनमा भूतपूर्व सुरक्षागार्डहरूलाई उद्धृत गर्दै सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएपछि सेतो भवन खाली गरिएको र त्यसलाई राष्ट्रपति बशर अल–असदको सत्ताको विरोधमा भएका प्रदर्शनमा सहभागी भएकाहरूलाई थुनामा राख्न प्रयोग गरिएको उल्लेख छ । तर, रातो भवनमा रहेका बन्दीहरूलाई विभिन्न विधि प्रयोग गरेर यातना दिइने गरिन्थयो । त्यसमा बलात्कार, चरम कुटपिट र खाना र औषधोपचारबाट विमुख गराउनेसहितको अत्याचार हुन्थयो ।

सेतो भवनको पछाडि मृत्युदण्ड कक्ष छ । रातो भवनमा रहेका बन्दीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिन त्यहाँ लैजाने गरिन्थयो । मृत्युदण्ड दिनुअघि बन्दीहरूलाई कुटपिट गरिन्थ्यो ।

आँखामा पट्टी लगाइएका बन्दीहरूलाई सिँढीबाट हिँडाएर सेतो भवनमा अवस्थित फाँसी दिने ठाउँमा पु र्‍याइन्थ्यो । त्यसपछि त्यस्ता बन्दीलाई एक मिटर अग्लो र १० वटा पासो रहेको उक्त स्थानमा पुर्‍याउने गरिन्थयो । सन् २०१२ मा उक्त कक्षलाई विस्तार गरी २० वटा पासो थपेर फाँसी दिने अर्को स्थल बनाइएको थियो । विद्रोहीहरूसँग सम्बन्ध भएको सञ्चारमाध्यमले जनाएअनुसार सत्ता ढलेपछि विद्रोहीहरूले सैदनाय परिसरमा फेला परेका मृत्युदण्ड दिन राखिएका दर्जनौँ पासोहरू प्रदर्शन गरेका थिए ।

भूउपग्रहबाट खिचिएको सैदनाय कारागारको तस्बिरमा सम्भावित शवदाहगृह पनि देखिन्छ जेलमा रहेका ३०,००० बन्दीहरू स्वास्थ्यस्याहारको अभाव वा भोकका कारण बढीको मृत्यु भएको छ । २०१८ देखि २०२१ मा थप ५०० बन्दीलाई फाँसी दिइएको छ ।

सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले मारिएका बन्दीहरूको शव व्यवस्थापनका लागि सम्भवतः एउटा शवदाहगृह बनाइएको जनाएको थियो । अमेरिकी अनुसन्धानकर्ताहरूले केही स्याटलाइट तस्बिर सार्वजनिक गर्दै तिनमा देखिएको एउटा सानो भवनलाई शवदाहगृह बनाइएको दाबी गरेका थिए ।

जेल परिसरमा सुरुदेखि नै कडा सुरक्षा र तारबारको व्यवस्था गरिएको थियो । दुई सय सैनिकको टोलीले त्यहाँ गस्ती गथ्र्यो भने थप २५० सैन्य गुप्तचर र सैनिक प्रहरीको टोलीलाई आन्तरिक सुरक्षाको जिम्मा दिइएको थियो

असदको सत्ता ढलेयता उक्त जेल परिसरभित्र हतार गरेर सर्वसाधारणहरूलाई नपस्न अनुरोध गरिएको छ । अधिकारवादी समूहहरूले उक्त परिसरको भित्री भागमा विस्फोटक पदार्थ बिच्छयाइएको जनाएका छन् ।

सैदनायममा बन्दी बनाइएका आफन्तका परिवारले असदको सत्ता ढलेपछि कतिपय अवस्थामा दशकौँसम्म बेपत्ता रहेका आफ्ना प्रियजनहरूलाई फेला पार्ने आशा बढेको आशा गरेका छन् ।