सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि


बेरुत– सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि भए पनि त्यसमा संलग्नलाई कारबाही भने भएको छैन ।

शुरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार हानेका देखिएको थियो । तर अधिकारवादीहरु तथा संयुक्त राष्ट्रसंघको आग्रहका कारण यसरी हमला गर्ने क्रम विपक्षी विद्रोहीहरुले भने रोकेका छन् ।

छानबीनका लागि नयाँ समिति गठन गरेका बताइएको भए पनि सिरियाली सरकारलाई कुनै कारबाही भने भएको छैन । तर त्यस विषयमा प्रमाण जुटाउने काम भने भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

रासायनिक हतियारको उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउन बनेको एक संगठन, ओपिसिडब्ल्युले गरेको अनुसन्धानमा भनिएको छ– सन् २०१४ बाट शुरु भएका यस्ता आक्रमणमध्ये कम्तीमा पनि ७० वटा आक्रमणमा यस्तो घातक हमला भएको पाइएको छ ।

उक्त संस्थाले सन् २०१४ देखि यस्तो हमलाको बारेमा अनुसन्धान थालेको र त्यसमा सूचनामा आएका ३७० वटा आक्रमणका घटनामध्ये ७० वटामा यस्तो घातक पदार्थ प्रयोग गरेको पाइएको जनाएको थियो । यसरी गरिने कारबाहीमा विभिन्न घातक प्रकृतिका ग्यासको प्रयोग भएको अनुसन्धानमा संलग्न राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।

रासायनिक हतियारको प्रयोग गरी नागरिकमाथि घातक हमला गरिएको भन्दै यसले पर्नसक्ने नकारात्मक प्रभावका लागि सरकारलाई कारबाही गर्ने चेतावानी संयुक्त राष्ट्रसंघले दिएको थियो । ती हातहतियार र घातक ग्यासको प्रयोग भएको बारेमा अनुसन्धान र निरीक्षण गर्न राष्ट्रसंघले नै एक संयन्त्रको स्थापना गरेको थियो । अनुगमनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि अनुसन्धान संयन्त्र बनाएको छ ।

सिरियामा शुरुका केही वर्षमा सरकारी सेनाले नै विद्रोहीलाई आक्रमण गर्दा यस्ता घातक हतियारको प्रयोग गरेको भनी व्यापक मात्रामा गुनासो आएको थियो । सो विषयमा केही वर्षअघि नै विज्ञ टोली गठन गरी अनुसन्धान गर्न खोज्दा सिरियाली सरकारले दिएको थिएन । अहिले पनि सिरियाली सेनाले गरेका हमलामा अनुसन्धान गर्न मानवअधिकारवादीको पहूुँच कमै हुनेगर्दछ ।

विगतदेखि नै यस विषयको अनुसन्धान प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि राष्ट्रसंघले विभिन्न समयमा टोली नै गठन गरेको हो । एजेन्सी