सिरियामा दुई विद्रोही समूहबीच झडप, १९ को मृत्यु

सिरियामा दुई विद्रोही समूहबीच झडप, १९ को मृत्यु


बेरुत- उत्तरी सिरियामा दुई विद्रोही समूहबीच भएको झडपको क्रममा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन्।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल-शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल-जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ।

सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले पुष्टि गरेको छ। त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखाडा लक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि बताएको छ।

बेलायतसँग आवद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहको मृत्यु भएको छ। साथै यस झडपमा परी दुई जना सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीका प्रमुख रहमानले बताएका छन्। यस झडपमा अन्य ३५ जना घाइते भएको उनले बताए।

नुरेद्दिन अल(जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीको रुपमा रहेको छ। एनएलएफ टर्की आवद्ध विद्रोहीको संयुक्त गठबन्धन हो। एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधा भन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ। सिरियाका सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

सो युद्धमा हजारौंको जिहादी र विदेशी सेनाको सहभागी हुँदै आएका छन्। सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यस आन्दोलनको क्रममा सिरियाभित्रै र छिमेकी देशमा दशौं लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन्।एएफपी