टी-२० विश्वकप क्रिकेट : सुपर-८ मा पुगे ६ टीम, १० बाहिरिए, ४ संघर्ष गर्दै

टी-२० विश्वकप क्रिकेट : सुपर-८ मा पुगे ६ टीम, १० बाहिरिए, ४ संघर्ष गर्दै


काठमाण्डु-वेस्टइन्डिज र अमेरिकामा जारी टी-२० विश्वकप क्रिकेटको सुपर-८को समीकरण रोचक मोडमा पुगेको छ । यसका साथै विश्वकप पनि रोमाञ्चक बन्दै गएको छ । सुपर-८मा पुग्न केही बलिया राष्ट्रहरू चुकेका छन् भने केही एशोसिएट देशले स्थान पक्का गरेका छन् ।

शनिबार बिहानसम्म खेलिएका ३१ खेल पछि ६ वटा टीम सुपर-८मा स्थान बनाइसकेका छन् । सुपर-८मा पुग्न १० टीम वञ्चित भएका छन् । वञ्चित हुनेहरूमा विश्वकपका दाबेदार राष्ट्र पनि छन् ।

प्रतियोगिताको ३१औं खेल नेपाल र दक्षिण अफ्रिकाबीच शनिबार बिहान भएको छ । जसमा नेपाल एक रनले पराजित भएको छ । यो खेलमा पराजय भएपछि नेपालको सुपर-८को यात्रा टुंगिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल बंगलादेशसँग मात्र खेल्न बाँकी छ ।

अहिलेसम्मको नतिजाअनुसार सुपर-८मा भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान, वेस्टइन्डिज र अमेरिका पुगिसकेका छन् । पहिलो विश्वकप खेलिरहेको अमेरिका सुपर-८मा पुगेर धेरैलाई स्तब्ध बनाएको छ ।

यसका साथै १० टिम सुपर-८को यात्राबाट वञ्चित भएका छन् । सुपर-८मा पुग्न विश्वकपका दाबेदार राष्ट्रहरू पनि असफल भएका छन् । सुपर-८बाट पाकिस्तान, श्रीलंका र न्यूजील्याण्ड बाहिरिदा धेरैले आश्चर्य मानेका छन् ।

यस दौडबाट पाकिस्तान, क्यानाडा, आयरल्याण्ड, न्युजील्याण्ड, नामिबिया, पपुआ न्यू गिनी, श्रीलंका, युगान्डा, नेपाल र ओमान वञ्चित भएका छन् ।

यसका अतिरिक्त सुपर-८मा पुग्न दुई टिम अझै बाँकी छन् । जसका लागि ४ टीमबीच प्रतिस्पर्धा भइरहेको छ ।

सुपर-८का लागि अब इंग्याण्ड, स्कटल्याण्ड, बंगलादेश र नेदरल्याण्ड मध्ये दुई टीम मात्र प्रवेश पाउने छन् । यी चार टीम मध्ये इंग्याण्ड र बंगलादेशको सम्भावना बढी छ ।