टी–ट्वान्टी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै

टी–ट्वान्टी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै


काठमाण्डु – आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । यूएईको अबुधाबीमा दिउँसो पौने चार बजेबाट सुरु हुने खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड तथा पाकिस्तान र स्कटल्याण्ड खेल्दै छन् ।

सुपर १२ को समूह दुई अन्तर्गत पहिलो खेल अफगानिस्तान र न्यूजिल्यान्डबीच हुँदैछ । समूह दुईमा लगातार चार खेल जितेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डको ६ अंक छ । अब यो समूहबाट न्यूजिल्यान्ड, अफगानिस्तान र भारतमध्ये एउटा टोली सेमिफाइनल पुग्नेछ । अफगानिस्तानले हारेमा यूजिल्यान्ड ८ अंकसहित सेमिफाइनलमा पुग्नेछ ।

तर अफगानिस्तानले जिते उसको ६ अंक हुनेछ । अनि न्यूजिल्यान्ड, अफगानिस्तान र भारतका लागि सेमिफाइनल होड खुल्ला रहनेछ ।
किनभने चारमध्ये दुई–दुई खेल जितेका भारत र अफगानिस्तानको अहिले समान चार–चार अंक छ ।

आज न्यूजिल्यान्ड हारेमा र अबको बाँकी खेलमा भारतले नामिबियालाई हराउन सके तीन वटै टोलीको समान ६–६ अंक हुनेछ । रनरेटका आधारमा भारत अगाडि रहेकाले सेमिफाइनलमा पुग्ने सम्भावना पनि बलियो बन्नेछ । आज अफगानिस्तानले हारे भारत पनि बाहिरिनेछ । भारत र नामिबियाबीचको खेल सोमबार हुनेछ ।

यस्तै, आज हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्याण्ड राती पौने आठ बजे सारजाहमा खेल्दै छन् । पाकिस्तानले स्कटल्यान्डलाई हराएमा पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ । सुपर १२ को समूह एकबाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् ।