काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।
समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालले आईसीसी टी–२० विश्वकपको यात्रा पूरा गरेको छ । १४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।
नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ । नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको हो ।
नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली बनेको छ ।
बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अष्टेलिया रहेको समुह ‘ए’ मा रहनेछ ।
बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो । कुशल मल्लले बनाएको २७ रन नै सर्वाधिक रह्यो । दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए ।
छैटौँ विकेटका लागि कुशल र ऐरीले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेन । बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।
बंगलादेशका लागि तान्जिम हसन सकिब नेपालविरुद्ध घातक बने । उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ७ रन दिदा ४ विकेट लिए । मुस्ताफिजुर रहमानले तीन विकेट लिए । सकिब अल हसनले दुई तथा तास्कीन अहमदले एक विकेट लिए ।
त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो ।
तिव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सोमपाल कामी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट आफ्नो नाममा गरे ।
प्रतिक्रिया