टी-२० विश्वकपमा कहाँ चुक्यो नेपाल ?

टी-२० विश्वकपमा कहाँ चुक्यो नेपाल ?

अभूतपूर्व प्रदर्शन, उपलब्धि शून्य !


काठमाण्डु-वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पराजित पछि यसको विश्वकपको आगामी यात्रामा विराम लागेको छ ।

सोमबार भएको खेलमा बंगलादेशसँग २१ रनले नेपालको हार भयो । यस हारसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरियो ।

यस विश्वकपमा नेपालको शानदार बलिङ रह्यो । तर परिणाम भने निराशाजनक भोग्नु परेको हो । ब्याटिङका कारण लगातारको हारसँगै जितविहीन बनेको नेपालको यस संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेटमा चुनौति समाप्त भएको छ ।

टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । सन २०१४ मा भएको विश्वकपमा सहभागी भएको नेपाल एक दशक पनि दोस्रोपटक विश्वकपमा पुग्न सफल भएको थियो । अघिल्लो संस्करणको जस्तै यसपटक पनि नेपाल जितविहीन नै रह्यो ।

४ समूहमा बाँडेर खेलाइएको प्रतियोगितमा नेपाल समूह ‘डी’ मा परेको डेथ ग्रुप पनि भनिने यस समूहमा नेपालसहित श्रीलंका, नेदरल्याण्ड, बंगलादेश र दक्षिण अफ्रिका थिए । यस समूहबाट दक्षिण अफ्रिका र बंगलादेश अर्को चरणमा पुग्न सफल भएका छन् भने नेपालसँग श्रीलंका र नेदरल्याण्ड समूह चरणबाटै घर फर्किएका छन् ।

नेपालले समूह चरणमा ४ मध्ये तीन खेलमात्र खेल्न पायो । श्रीलंकासँगको खेल वर्षाले रद्द भयो र दुवै टिमले एक–एक अंक बाँडे । बाँकी तीन वटै खेलमा नेपाल पराजित भयो ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो ।

बङ्गलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कका रन बनाउन सकेनन् । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए । अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहोरा शून्यमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा बङ्गलादेशका लागि तान्जिम हसन सकिबले चार विकेट लिए भने, मुस्ताफिजुर रहमानले तीन विकेट झारे । त्यस्तै सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो ।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए ।

प्रतियोगिताबाट बाहिरिए पनि नेपालका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेले भने नयाँ कीर्तिमान कायम गरे । सन्दीपले टि–२०अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४ औँ खेलमा एक सय विकेट लिंदै विश्वको दोस्रो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भए ।

बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको एक सय विकेट पूरा भएको हो । जारी विश्वकपमा सन्दीपको यो दोस्रो खेल हो । यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपी नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

समूह चरणको तेस्रो खेलमा शनिबार नेपाल दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध भएको थियो । नेपालले हालसम्म कुनै पनि टेष्ट राष्ट्रलाई हराउन सकेको छैन् । शनिबार भएको खेलमा नेपाल १ रनले पराजित भएको छ । टर जितेर बलिङ राजेको नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा अलआउट गर्न सफल भएको थियो । जवाफमा नेपालले ११४ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कुशल भूर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभरमा १९ रन दिएर भुर्तेलले ४ विकेट लिएका हुन् । यस प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि उनी नै बने । त्यस्तै दिपेन्द्रसिंह ऐरी ३ विकेट लिँदा ४ ओभरमा २१ रन दिए । यता ४ ओभर बलिङ गरेका सन्दीप लामिछानेले १८ रन दिँदा विकेट भेन लिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल १३ रन बनाउँदै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ४२ रन जोडेर जीतका लागि भरमग्दुर प्रयास गरेका थिए । यद्यपी उनको प्रयासले सार्थकता पाएन । अनिल साहले २७ रन थपेको सो खेलमा दीपेन्द्रसिंह ऐरीले ६ रन थपे । कप्तान रोहित भने फ्लप सावित भए । रोहित शून्य रनमा आउट हुँदा कुशल मल्ल पनि १ रनमै पेभिलियन फर्किए ।

समूह चरणको पहिलो खेल नेपालले नेदरल्याण्डसँग खेलेको थियो । त्यस खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्ता पाएको थियो । १९.२ ओभरमा नेपाल १०६ रन जोड्दै अलआउट भएको सो खेलमा ओपनरद्धय भूर्तेल ७ र आसिफ ४ रनमै आउट भए । अनिल ११ रनमा आउट हुँदा कप्तान रोहितले सर्वाधिक ३५ रन जोडेका थिए । कुशल मल्लले ९ रन जोड्दा ऐरी १, सोमपाल शून्य, गुल्सन झा १४ र करण केसीले १७ रन हिर्काएका थिए ।

जवाफी ब्याटिङमा नेदरल्याण्डले १८.४ अ‍ोभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका सोमपाल, दीपेन्द्र र अभिनाष बोहराले समान १ विकेट लिएका थिए । श्रीलंकासँगको खेल भने वर्षाले स्थगित भएको थियो ।