टी-२० विश्वकप : बंगलादेशमाथि अफगानिस्तानको रोमाञ्चक जित

टी-२० विश्वकप : बंगलादेशमाथि अफगानिस्तानको रोमाञ्चक जित

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ


काठमाण्डु-आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको छ ।

बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो ।

१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे । त्यस्तै, सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।

कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए ।

कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।