टी-२० विश्‍वकप क्रिकेटमा भारतका ओपनर कोहलीमाथि प्रश्न

टी-२० विश्‍वकप क्रिकेटमा भारतका ओपनर कोहलीमाथि प्रश्न


काठमाण्डु – जारी टी-२० विश्वकप प्रतियोगितामा भारतले अहिलेसम्म खेलेका तीन खेल जितेको छ । जितसँगै भारत सुपर–८ मा स्थान पक्का गरिसकेको छ । तर, ओपनर विराट कोहलीको ब्याटबाट तीन खेलमा ५ रनमात्रै बनेको छ ।

बुधबार राति न्यूयोर्कको नसाऊ काउन्टी क्रिकेट स्टेडियममा ब्याटिङका लागि मैदानमा ओर्लदा विराट कोहली टी २० क्रिकेटमा आफ्नो १४ औं वार्षिकोत्सव मनाउँदै थिए । प्रतियोगितामा आयरल्याण्ड र पाकिस्तानसँगको खेलमा कोहलीको ब्याटिङ नचले पनि विश्वकपका नवप्रवेशी अमेरिकाविरुद्ध उनले राम्रै रन बनाउने क्रिकेट प्रेमी र कोहलीका प्रशंसकहरूको आशा थियो । तर, अमेरिकासँगको खेलमा पनि कोहलीको ब्याट चलेन । उनी गोल्डन डक भए ।

खेलको पहिलो ओभरको दोस्रो बलमा अमेरिकी बलर सौरभ नेत्रावलकरले कोहलीलाई शून्यमा आउट गरे ।

यद्यपी भारतले अमेरिकालाई सात विकेटले हराएर सुपर–८मा प्रवेश गरेको छ । कोहलीको प्रदर्शनबाट निराश आलोचकहरू भारतीय टीमको रणनीतिमाथि पनि प्रश्न उठाइरहेका छन् । कोहली कप्तान रोहित शर्माका साथ ओपनिङका लागि किन आइरहेका छन् भन्ने पनि प्रश्न आलोचकहरूले उठाइरहेका छन् ।

२३ अक्टोबर २०२२ मा विराट कोहलीले टी-२० विश्वकपमा पाकिस्तानसँगका खेलमा भारतलाई अप्रत्यासित जीत दर्ता गराएका थिए । त्यस खेलमा उनले ५२ बलमा ८२ रन बनाएका थिए ।

कोहली एक्ला यस्ता खेलाडी हुन जसले दुई अलग–अलग टी–२० विश्वकपमा सर्वाधिक रन बनाएका छन् । २०१४ मा बांग्लादेशमा भएको टी-२० प्रतियोगितामा उनले सबैभन्दा धेरै ३१९ रन बनाएका थिए । यस्तै, अस्ट्रेलियामा २०२२ मा भएको विश्वकपमा पनि विराट कोहलीले सबैभन्दा बढी २९६ रन बनाएका थिए ।

यतिकै मात्रै होइन, गत महिना सम्पन्न इन्डियन प्रिमियर लीग (आईपीएल)मा पनि विराट कोहलीले सर्वाधिक रन बनाएका थिए । यद्यपी आईपीएलमा उनको ‘स्लो ब्याटिङ’को विषयमा पनि चर्चा भएको थियो । उनले केही खेलमा तेज रन बनाएर आफ्नो स्ट्राइक रेट १५० भन्दा माथि पुर्‍याउन सफल भएपछि चर्चा सेलाएको थियो ।

कोहली आईपीएलको दुई छुट्टाछुट्टै संस्करणमा ७०० भन्दा बढी रन बनाउने पहिलो भारतीय खेलाडी हुन् । आईपीएलमा कोहलीको प्रदर्शनकै कारण उनलाई टी २० विश्वकपमा नम्बर तीनबाट ओपनिङका लागि पठाइए पनि अमेरिकी धर्तीमा अहिलेसम्म कोहलीको प्रर्दशन निराशाजनक छ । भारत आफ्नो समूहको अन्तिम खेल शनिबार क्यानाडासँग खेल्दैछ ।

भारतका पूर्वक्रिकेटर इरफन पठानले आश गर्दै भनेका छन्, ‘विराट कोहली छिटो नै ठूलो स्कोर बनाउने छन् ।’ सामाजिक सञ्जाल एक्समा उनी लेख्छन, ‘वेल डन बायज । जब सूर्या र दुबे रन बनाइ रहेका छन् भने टीमले राम्रो प्रदर्शन त गरिहेको छ नै । तर, अब विराट कोहलीले छिटो ठूलो स्कोर बनाउन पाऊन् । हामी सबैलाई यसकै प्रतीक्षा छ ।’

अरु पनि भारतको ओपनिङ ब्याटसम्यान विराट कोहली र रोहित शर्माको जोडीमाथि प्रश्न उठाएका छन् । पूर्वक्रिकेटर मोहम्मद कैफले कोहलीलाई नम्बर तीनमै रहन सुझाव दिएका छन् ।

जारी विश्वकपमा रोहित शर्मा र विराट कोहलीको ओपनिङ जोडीले आयरल्याण्डविरुद्ध २२ रन, पाकिस्तानविरुद्ध १२ र अमेरिकाविरुद्ध मात्र एक रनको साझेदारी गरेको छ । यशस्वी जायसवाल वा सञ्जू म्यामसनलाई रोहित शर्माका साथ ओपनरको रूपमा ल्याएर कोहलीलाई नम्बर तीनमा पठाउन धेरैको सुझाव छ ।

बुधबारको खेल भारतले जिते पनि अमेरिकी खिलाडीले भारत जस्तो बलियो टिमलाई हावी हुन मौका दिएनन् । पहलो ब्याटिङ र पछि बलिङ दुबै मोर्चामा अमेरिकी टीम पर्खाल जस्तै उभियो । भारतलाई रन बनाउन निकै संघर्ष गर्नु परेको देखिन्थ्यो ।