काठमाडौं–आईसीसी टी२० विश्वकप क्रिकेटको नवौं संस्करण शनिबारबाट सुरु हुँदैछ । अमेरिका र वेष्टइण्डिजले संयुक्त रूपमा आयोजना गरिरहेको यो प्रतियोगिता शनिबार १ जुनमा सुरु भएर २९ जुनसम्म चल्ने छ ।
यसपटक विश्वकप क्रिकेटमा २० वटा टिम सहभागि छन् । सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउने छन् ।
जुन १ मा पहिलो खेल सह–आयोजक अमेरिका र क्यानडाबीच हुनेछ । यस्तै, सह–आयोजक वेस्टइन्डिज र पपुवा न्यूगिनीबीच दोस्रो दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ४१ खेल हुनेछन् । फाइनल भने २९ जुनमा हुनेछ ।
समूह चरणको पहिलो खेल नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग डालसमा खेल्ने छ । ११ जुनमा नेपालको प्रतिस्पर्धा श्रीलंकासँग हुनेछ । नेपालको तेस्रो खेल १४ जुनमा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा हु्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १६ जुनमा बंगलादेशसँग खेल्ने छ ।
प्रतियोगिता सुरु हुन एक दिन मात्र बाँकी रहँदा सहभागि सबै टिमले अन्तिम तयारीमा जुटेका छन् । यता अष्ट्रेलियाका दुई पूर्वखेलाडीले गरेको भविष्यवाणीले क्रिकेटप्रेमी माझ तरंग ल्याएको छ ।
खेल सुरु हुन पूर्व नै आस्ट्रेलियाका दुई खेलाडीको भविष्यवाणीले झन कौतुहलता ल्याएको छ । अष्ट्रेलियाली खेलाडी नाथन लायनले प्रतियोगिताको फाइनलमा भारत नपुग्ने दाबी गरेका छन् भने भारतका विराट कोहली टी२०मा सबैभन्दा धेरै रन बनाउन नसक्ने दाबी अर्का अष्टेलियाली खेलाडी रिकी पोन्टिङको छ ।
लायनले टी२० विश्वकपको फाइनल आस्ट्रेलिया र पाकिस्तानबीच भीडन्त हुने दाबी गरेका छन् । रिकी पोन्टिङले भारतका विराट कोहली यस विश्वकपमा सबैभन्दा धेरै रन बनाउन नसक्ने दाबी गरेका छन् । कोहलीको स्थान अष्ट्रेलियाका ट्रेविस हेडले लिने पनि उनको दाबी छ ।
फाइनलमा अष्टेलिया र पाकिस्तान पुग्ने पछाडि नाथन लायनले केही आधार पनि दिएका छन् । उनले भनेका छन् कि अस्ट्रेलियाका लागि उनी धेरै पक्षपाती हुन् र त्यसकारण फाइनलमा पुग्नेछ । पाकिस्तानको बलिङ गज्जबको रहेको र अमेरिका–वेस्टइण्डिजको परिस्थिति पाकिस्तानी खेलाडिको पक्षमा रहने उनको तर्क छ । साथै पाकिस्तानको ब्याटिङ अहिले फर्ममा रहेको उनको विश्लेषण छ । पाकिस्तानसँग बाबर आजम जस्ता खेलाडि रहेका कारण फाइनलमा पुग्ने दाबी लायनको छ ।
उता, रिकी पोन्टिङले सर्वाधिक रन बनाउने खेलाडी अष्ट्रेलियाका ट्रेविस हेड हुने बताएका छन् ।
पछिल्लो दुई वर्षमा हेडको प्रदर्शन उत्कृष्ट रहेको र दमदारपूर्ण आक्रामक क्रिकेट खेल्ने कला हेडसँग रहेको पुष्टि हालै सम्पन्न आईपीएलमा देखिएको उनको तर्क छ । हेड ‘म्याच विनर’ ब्याटर्स रहेको पोन्टिङले भनेका छन् । पोेन्टिङले यस प्रतियोगितामा भारतका जसप्रीत बुमराह उत्कृष्ट बलर सावित हुने पनि भविष्यवाणी गरेका छन् ।
बुमराह हरेक प्रकारको पिच र माहोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता राख्छन् । उनले फ्याकेको बल स्विङ र सीम हुन्छ । आईपीएलमा उनका इकनमी रेट ७ रन प्रति ओभरभन्दा कम थियो । यसैकारण बुमराहले बढीभन्दा बढी विकेट लिन सक्ने पोन्टिङको भविष्यवाणी छ ।
अब हेरौं लायन र पोन्टिङले गरेको भविष्यवाणी कति मेल खान्छ ।
प्रतिक्रिया