टानको अध्यक्षमा पाण्डे विजयी

टानको अध्यक्षमा पाण्डे विजयी


काठमाण्डु – पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका हुन् ।

गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हुन् ।

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टानका निवर्तमान महासचिव विनोद सापकोटाले जानकारी दिए ।

यस्तै, सचिव पदमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित भएका छन् ।