पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मर्मतपछि बिजुली उत्पादन सुरु

पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मर्मतपछि बिजुली उत्पादन सुरु


काठमाण्डु – पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रलाई मर्मत गरेपछि बिजुली उत्पादन सुरु भएको छ ।

४५६ मेगावाटको तामाकोशीमा गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएपछि विद्युत् उत्पादन रोकिएको थियो ।

क्षतिग्रस्त संरचनाको आंशिक मर्मत गरी ८८ दिनपछि मंगलबार साँझबाट पुनः विद्युत् उत्पादन सुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । केन्द्रबाट १२० मेगावाट विद्युत् उत्पादन सुरु गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोशीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा क्षति पुगेको थियो ।

जलविद्युत् केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष समेत रहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मर्मत गरी तालिकाभन्दा १ दिनअघि नै विद्युत् उत्पादन सुरू गर्न सफल भएको जानकारी दिए ।