नगरप्रमुख स्व सुब्बालाई अन्तिम श्रद्धाञ्जलि अर्पण

नगरप्रमुख स्व सुब्बालाई अन्तिम श्रद्धाञ्जलि अर्पण


इटहरी – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाजस्ता निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाईसमेत ठूलो क्षति भएको बताएका छन् ।
उपप्रधानमन्त्री पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख स्व सुब्बाको धरानस्थित पब्लिक माविको खेलमैदानमा राखिएको पार्थिव शरीरमा आज नेपालको राष्ट्रिय झण्डासहित पार्टीको झण्डा ओढाएर उनिप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।

धरान उपमहानगरको विकासमा प्रमुख सुब्बाले देखेका विकासका थुप्रै सपना अधुरै छोडेर गएकोले सबै अधुरा सपना धरानवासीले मिलेर पूरा गर्नु नै उनिप्रति श्रद्धाञ्जलि र सम्झना हुने उपप्रधानमन्त्री पोख्र्रेलले उक्त श्रद्धाञ्जलि सभामा भनाइ राखे । उनिजस्तो होनहार र कर्तव्यप्रति निष्ठापूर्वक लाग्ने मानिस गुमाउनु पर्दा सबैलाई पीडाबोध हुनु स्वाभाविक हो भन्दै उनले अहिले तारा सुब्बाको निधनको खबरले सबैमा त्यस्तै पीडाबोध भइरहेको छ भने ।

उक्त अवसरमा प्रदेश नं १का मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री एवं नेकपाका नेता भीम आचार्य, प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारी मन्त्रीगण अन्य उच्च पदस्थ कर्मचारी एवं नेपाली काँग्रेसका नेता एवं सांसद तथा अन्य सर्वसाधारणले समेत स्व सुब्बाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।

उनको पार्थिव शरीरलाई धरान–१२ चतरा लाइन भएर विभिन्न वडाको मुख्य बजार क्षेत्रको परिक्रमापछि अपराह्न ४ बजेपछि लिम्बू जातीय हिन्दू परम्परा अनुसार धरानको हरियाली सामुदायिक वन क्षेत्रमा अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ ।
उनको निधनप्रति श्रद्धाञ्जलि अर्पणका लागि भोलि प्रदेश नं १ का सबै स्थानीय तह बन्द रहने निर्णयसमेत गरेको बताइएको छ ।