हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो :प्रधानमन्त्री ओली

हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो :प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका दिन शुभकामना दिएका छन् । सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा प्रधानमन्त्रीले शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले सरकाले आय आर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउंदै लगेको बताए ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ – प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिंदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन । आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ ।

वर्षौँदेखिको राजनीतिक सङ्घर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै उहांले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा प्रधानमन्त्रीले शुभकामना सन्देशमा जोड दिएका छन् ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेवापत तिर्नुपर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत सङ्कलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुन्छ ।’