साढे ३ अर्ब रुपैयाँको चिया निर्यात

साढे ३ अर्ब रुपैयाँको चिया निर्यात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात ४ अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार वार्षिक दुई करोड ४८ लाख किलोग्राम तयारी चिया उत्पादन भएको देखिन्छ । त्यसमध्ये एक करोड ८८ लाख केजी सिटीसी तथा ५९ लाख केजी अर्थोडक्स चियाको उत्पादन भएको बोर्डले जनाएको छ ।

बोर्डले आइतबार २९औँ राष्ट्रिय चिया दिवस मनाउँदैछ । दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् ।

बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिएका छन् । नेपालमा १५ हजारभन्दा धेरै चिया किसान छन् ।

पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका साथै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेतीको विस्तार भइरहेको छ ।