काठमाण्डु- राजधानी केन्द्रित आन्दोलन थालेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा परक्षाको नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ ।
सरकारसँग विभिन्न मागहरू गर्दै आएको महासंघले माघ २० गतेबाट आन्दोलन सुरु गरेका हुन् । महासंघले चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक/कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन गारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ ।
देशभरका सबै विद्यालय बन्द गरि काठमाडौँको शैक्षिक आन्दोनलमा सहभागी हुन अनिवार्य रूपमा आउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन र यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यववस्थापन समिति लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।’
शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।

प्रतिक्रिया