काठमाण्ड्- शिक्षकहरुको आन्दोलन आइतबार १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिहेका शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन ।
तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।
शिक्षकहरुले आइतबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने बताएका छन् । यसले कार्यालय समयमा अझै धेरै समस्या हुने देखिएको छ । आइतबार नै राप्रपाले पनि प्रदर्शन गर्ने भएका कारण आफ्नो कार्यक्रम सारिएको शिक्षक महासङ्घले जनाएको छ । यसअघि शिक्षकहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रर्दशन गर्दै आएका थिए ।
यसबीच नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ । ‘शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छु’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत महासंघको आग्रह छ ।
प्रतिक्रिया