पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन


गण्डकी – पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ ।

दन्त विभागमा अस्थायी/स्थायी रूपमा दाँतसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार अस्पतालले बहिरङ्ग (ओपीडी), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी, यूएसजी र ईसीजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

दन्त विभागलाई दक्ष तथा अनुभवी १ जना बीडीएस डेन्टल सर्जन र १ जना पीसीएल डेन्टल हाइजिनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह प्रा.डा. दीपेन्द्रकुमार यादवले जानकारी दिए । शिक्षण अस्पताल सरकारी भएकाले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पतालसरह भएको उनले बताए ।

दन्त चिकित्सक डा. मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपीडी सेवा बिदाको दिनबाहेक १०–५ बजेसम्म सञ्चालन हुने र दाँतका बिरामीहरूलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेको जानकारी दिए ।