ललितपुर – पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन ।
भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि १३ करोड सहयोग गर्ने भएको छ । उनले भने, “कसले पुनःनिर्माण गर्ने भन्ने टुङ्गो लागेपछि मात्र काम अघि बढ्छ ।”
सो क्षेत्रमा भूकम्प अघि काठमाडौँ उपत्यका विकास कोषले स्मारक पुनःनिर्माणको काम गर्दै आएको थियो । भूकम्पपछि कतिपय स्मारक सरकार आफैँले पुनःनिर्माण थालेको छ । ठेकेदारको ढिलाइ तथा कतिपय ठेकेदार सम्पर्कमा नआउँदा पुनःनिर्माणको तीव्ररूपमा अघि बढ्न सकेको छैन ।
कोषले भने काम समयमा नै गर्न सक्ने प्याकुरेलको दावी छ । “कानूनी प्रावधानका कारण कोषलाई कामको जिम्मेवारी दिन सकिएको छैन,” उनले भने । सरकारले पुनःनिर्माणका लागि गैरसरकारी संस्थालाई ६० लाखभन्दा बढी रकम दिन नमिल्ने नियम छ ।
काठमाडौँको हनुमान दरबार र ललितपुरको देगु तलेजु मन्दिर पुनःनिर्माण गर्न नेपालस्थित जापानी दूतावासले गत वर्ष नेपाल सरकारसँग सम्झौता गरेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न स्मारकमध्ये देगु तलेजु महत्वपूर्ण मानिन्छ । मल्लकालमा राजा सिद्धिनरसिंह मल्लले उक्त मन्दिर बनाउन लगाएको इतिहास छ ।
प्रतिक्रिया