टेस्लाले अवैध रुपमा गाडी आयात गर्दै,प्रत्येक गाडीमा २९ लाख राजस्व छली भएको पुष्टि

टेस्लाले अवैध रुपमा गाडी आयात गर्दै,प्रत्येक गाडीमा २९ लाख राजस्व छली भएको पुष्टि


काठमाण्डु– नेपालमा टेस्ला गाडीको अवैध आयात भएको पाइएको छ । हालसालै नेपालस्थित एट्ले इन्टरनेशनल (ARETE International ) ले चार थान गाडीको अवैध आयात गरेको भेटिएको छ । आयातकर्ताले गाडीको न्यून बिजकीकरण गरेर भन्सार जांचपास गराएको स्रोतको दावी छ ।

यसअघि अर्थमन्त्री युवराज खतिवडा हुंदा ३० प्रतिशत जरिवाना तिरेर भन्सारमा महिनौं थन्किएका केही थान गाडीका लागी जांचपास गरिदिने व्यवस्था गरिएको थियो । तर,त्यसैलाई टेकेर खतिवडाले गरेको निर्णयको केही व्यवसायीहरुले दुरुपयोग गरेको भेटिएको छ । उनले निश्चित एउटा स्वार्थ समुहलाई फाईदा पुर्याउन उक्त निर्णय गरेको भन्दै त्यतिबेला सरकारको आलोचना समेत भएको थियो ।

यसअघि पनि नेपालस्थित श्रीमा डिस्ट्रिब्यूटरले साउथ चाइना एक्जिम प्रालि हङकङमार्फत २०७६ पुसमा टेस्ला एक्स मोडलको २ थान गाडी आयात गरेको थियो । तर, उसकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दामा टेस्लाले जितेपनि भन्सार विभाग महान्यायाधिवक्तमार्फत पुनरावलोकनका लागी मुद्दामा गएको छ । यसको फैसला अझै आइसकेको छैन ।

तत्कालिन अर्थमन्त्री खटिवडाले भन्सारमा थन्किएका गाडीको अवरोध हटाउने उद्देश्यले ३० प्रतिशत जरिवाना लिएर छुटाउने भएपनि व्ययवसायीले त्यसको दुरुपयोग गर्दै आएका छन् ।

टेस्लाले अहिले त्यही निर्णयको गलत फाईदा उठाउंदै गाडीको आयत गरिरहेको भेटिएको छ ।

टेस्लाको गलत धन्दा
आर्थिक ऐन २०७६ १२ क को सवारी साधनको पैठारी सम्बन्धी विशेष ब्यवस्थाअनुसार निर्माता कम्पनी वा निजको आधिकारी बिक्रेताबाट खरिद गरिएको नयां सवारी वा ढुवानीका साधनहरु नेपालस्थित आधिकारीक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउने व्यवस्था छ । तर, टेस्ला गाडीको पैठारीमा यसको उल्लंघन भएको पाइएको छ ।

भन्सार विभाग महान्यायाधिवक्ता कार्यालयमार्फत पुनरावलोकनका लागी गएपनि अदालती प्रक्रियामार्फत श्रीमा डिस्ट्रिब्यूटरले गाडी जांचपास र सवारी दर्ता प्रक्रिया पुरा गर्न सफल भएको थियो ।

एट्ले इन्टरनेशनले २०७७ को आर्थिक अध्यादेशको व्यवस्थाको दुरुपायोग गरेर गाडीहरु आयात गरेको देखिन्छ । उसले ४ थान टेस्ला मोडेल ३ आरडब्लु डी गाडीहरु २० अप्रिलमा आर्थिक ऐनअनुसार ३० प्रतिशत जरिवाना बुझाइ भन्सार जांचपास गरेको भेटिएको छ ।

त्यतिमात्र होईन आयातकर्ताले उक्त गाडीहरुको आयातमा आयातकर्ताले न्युन बिजिकरणका साथै गाडीको झुटो विवरण पेश गरेको समेत भेटिएको छ ।

उक्त गाडीको मुल्यांकन ३५ हजार ८ सय डलर घोषित गरेकोमा सो मुल्य अन्तराष्ट्रिय बजारमा भएको मुल्यभन्दा निकै नै कम हो । आयाताकर्ता उक्त कम्पनीले गाडीको मोटर पावर क्षमता २११ किलोवाट हुनुपर्नेमा १४७ किलोवाट मात्र खुलाएर २९ लाख भन्दा बढी राजस्व छलि समेत गरिएको पाइएको छ ।

२०७७ को बजेट संसोधनपश्चात विद्युतीय मोटरमा लाग्ने ‘एक्साइज ड्युटी’ को आकार पावरका आधारमा नभई विद्युतीय गाडीको मोटर पावरको आधारमा भन्सार लाग्छ । यसमा ‘एक्साइज ड्युटी’का अतिरिक्त आयात कर ४० प्रतिशत, सडक मर्मत तथा सम्भार कर ५ प्रतिशत र भ्याट १३ प्रतिशत लाग्ने गर्छ ।

त्यतिमात्र होईन उनिहरुले गाडीको मोटर पावर क्षमता वास्तविकभन्दा कम देखाई वास्तविक २ सय ११ किलोवाट हुनुपर्नेमा १ सय ४७ किलोवाट मात्र घोषणा गरी यातायात व्यवस्था विभागबाट सिओपी डकुमेण्ट समेत प्रमाणित गरेको भेटिएको छ ।

भन्सारबाट गाडीको झुटा बिबरण पेश गरि गलत गलत शिर्षकको कर तालिकाअनुसार भन्सार छुटाएको समेत पाइएको हो । टेस्ला गाडी किन्ने ग्राहकहरुलाई समेत उनिहरुले ठगेका छन् । बिक्रिपश्चातको सेवाहरुमा निर्माता कम्पनीहरुले कुनै पनि जिम्मेवारी नलिने उल्लेख छ ।

हंककंग बाहिर अन्तिम उपरोक्त प्रयोगकर्ताले बिक्रीपश्चात सेवा प्राप्त नहुने भनी आयातकर्ता र निर्यातकर्ताबीच स्पष्ट रुपमा सहमती भएको छ । यसको अर्थ नेपालका ग्राहकले बिक्री पश्चातको सेवा र स्पेयर पार्टस प्राप्त गर्ने छैनन । यदी कुनै मेजर प्राधिधिक समस्या आएका टेस्लाले कुनै पनि सेवा तथा सहयोग नगर्ने उल्लेख गरिएको छ ।

प्राविधिक समस्या आएमा उक्त गाडी नेपालबाट नजिक हंगकंग वा चाइनाको टेस्ला सर्भिस पोइन्टमा लैजानुपर्नेछ । आयातकर्ताको निश्चित गाडी बिक्री तथा मर्मत सम्भारस्थल समेत नभएको पाइएको छ । यसबारेमा काठमाण्डुपाटीले एट्ले इन्टरनेशनलका प्रतिनिधीसंग जानकारी माग्न खोज्दा उनिहरु सम्र्पकमा आउन चाहेनन् ।

कसरी भयो राजस्व छली ?
राज्यलाई २८ लाख ९३ हजार ८१७ रुपैयां कर छली गरेको उक्त कम्पनीले आयात गरेको टेस्ला गाडी स्ट्याण्डर्ड रेन्ज आरडब्लुडी मोटरद्वारा पावर दिएर चल्ने गाडी हो । यो गाडीको पछाडिको पाङ्ग्रामा २११ किलोवाटको मोटर जडान गरिएको हुन्छ ।

त्यसैले यो गाडी २११ किलोवाट पावर भएको गाडी हो । तर उनिहरुले बुझाएको कागजातमा १४७ किलोवाट पावर भनेर उल्लेख गरिएको पाइएको छ । टेस्लाको यो महंगो गाडी नेपालका केही ठुला उद्योगपति र धनाढ्यले प्रयोग गरिरहेका छन् ।

उनिहरुले उक्त गाडीको एचएसकोड ८७३८०६९ हुनुपर्नेमा ८७०३८०४९ एचएस कोड उल्लेख गरेर १५ प्रतिशतमात्र एक्साइज ड्युटी भुक्तानी गरेको देखिएको छ ।

सरकारलाई १ सय ४७ किलोवाट उल्लेख गरि प्रस्तुत गरिएको कागजातको आधारमा १५ प्रतिशत मात्र अतिरिक्त कर निर्धारण गरिएको छ जबकि उक्त गाडीको अतिरिक्त कर नै ६० प्रतिशत निर्धारण हुनुपर्ने हो ।

१५ प्रतिशत अतिरिक्त तालिकाअनुसार सम्पुर्ण संचयी कर ९१ प्रतिशत हुन जान्छ । जबकि ६० प्रतिशत एक्साइज टेवलअनुसार सम्पुर्ण संचयी कर १६५.७७ प्रतिशत लागु हुने देखिन्छ । एक्साइज ड्युटीमा २४ लाख ३८ हजार कर छली बचत गरी बांकी लागु हुने कर थप्दा एउटा गाडीमा २९ लाख कर छलि गरेको देखिन्छ ।

भन्सार विभागले यसबारेमा आन्तरिक रुपमा अध्ययन गरिरहेको जनाएको छ । भन्सार विभागका निर्देशक शिशिर घिमिरेले आयातकर्ता कम्पनीले क्षमता कम घोषणा गरेको भन्ने समाचार आएकाले यससम्बन्धमा प्राविधिक कुरा बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।