काठमाण्डु – न्युजिल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई ‘होम ग्राउण्ड’मै आठ विकेटले हराएको छ । बेंगलुरुमा भएको पहिलो टेस्टमा भारतले दिएको एक सय सात रनको लक्ष्य न्युजिल्यान्डले २७.२ ओभरमा दुई विकेट गुमाएर पार गर्यो ।
जितसँगै न्युजिल्यान्डले ३६ वर्षपछि उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा भारतले हरायो । तीन टेस्टको शृङ्खलामा १–० को अग्रता पनि लिएको छ ।
किविज टोलीलाई जित दिलाउन विल योङले अविजित ४८ रनको योगदान गरे । युवा ब्याट्सम्यान रचिन रवीन्द्रले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे ।
दोस्रो पालीमा किविज टोलीको दुबै विकेट जसप्रित बुमराहले लिए ।
त्यसअघि भारतीय टोलीले आफ्नो दोस्रो पालीमा सरफराज खानको एक सय ५० रनको सहयोगमा चार सय ६२ रन बनाएको थियो । चौथो टेस्ट खेलिरहेका २६ वर्षीय सरफराज खानले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक हो । दोस्रो पालीमा किविज टोलीका बलर म्याट हेनरी र विलियम ओ’रुर्कले तीन–तीन विकेट लिएका थिए । एजाज पटेलले पनि दुई विकेट हात पारेका थिए । टिम साउथी र ग्लेन फिलिप्सले पनि एक–एक विकेट लिएका थिए ।
त्यसअघि न्युजिल्यान्डले पहिलो पालीमा तीन सय ५६ रनको अग्रता लिएको थियो । न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा चार सय दुई रन बनाएको थियो । न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर डेभोन कनवे र युवा ब्याट्सम्यान रचिन रवीन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
न्युजिल्यान्डका लागि कनवेले ९१ रनको योगदान गरेका थिए । रचिन रवीन्द्रले एक सय ३४ रन बनाए ।
न्युजिल्यान्डका लागि टिम साउथीले ६५ रन बनाए ।
पहिलो पालीमा भारतीय टोलीका बलर रविन्द्र जडेजा र कुलदीप यादबले तीन–तीन विकेट लिएका थिए । मोहम्मद सिराजले पनि दुई विकेट हात पारे । जसप्रित बुमराह र रविचन्द्रन आश्विनले पनि एक–एक विकेट लिए ।
त्यसअघि घरेलु टोली भारतले आफ्नो पहिलो पालीमा निकै निराशाजनक प्रदर्शन गर्दै केवल ४६ रन बनाउँदै अलआउट भएको थियो ।
पहिलो पालीमा किविज टोलीका बलर म्याट हेनरी एक्लैले पाँच विकेट लिएका थिए । विलियम ओ’रुर्कले पनि चार विकेट हात पारेका थिए ।
भारत र न्युजिल्यान्डबिचको तीन टेस्टको शृङ्खला अन्तर्गतको दोस्रो खेल अक्टोबर १४ तारिखदेखि पुणेमा खेलिने छ । तेस्रो टेस्ट भने नोभेम्बर १ तारिखमा वानखेड स्टेडियममा सुरु हुनेछ ।
प्रतिक्रिया