थाई एयर एसियाले आईतबारदेखि काठमाण्डु र भैरहवामा उडान भर्ने

थाई एयर एसियाले आईतबारदेखि काठमाण्डु र भैरहवामा उडान भर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – थाई एयर एसियाको कात्तिक १८ गते आईतबारदेखि काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने भएको छ ।

कात्तिक ११ गते अनुमति बिना काठमाण्डु आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि निलम्बित उडान फुकुवा भएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाण्डु र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने शर्तसहित उडान अनुमति फुकुवा गरिएको छ ।

कम्पनीलाई हप्तामा काठमाण्डुमा ४ र भैरहवामा २ वटा उडान गर्ने गरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाण्डुको उडान स्वत रद्द हुने शर्त समेत राखी उडान फुकुवा गरिएको छ ।

‘३ नोभेम्बरदेखि हप्ताको २ उडान भैरहवाबाट गर्ने उडान तालिका पेश गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाण्डुबाट पनि उडान पुनः सुरु गर्ने शर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ । ‘एप्रुभल सेड्युल’ अनुसार काठमाण्डु र भैरहवासँगै उडान गर्नुपर्नेछ,’ उनले भने ।

थाई एयर एसियाले स्पष्टीकरण पेश गरेर माफी मागेपछि सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले जानकारी दिए ।

बिना अनुमति थाइल्याण्डबाट काठमाण्डु आएको थाई एयर एसियाको विमानलाई झण्डै १ घण्टा ‘होल्ड’ भएपछि विमान काठमाण्डु विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो । एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए) लाई पनि कारबाही गरिएको थियो ।

थाइ एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको छ ।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो ।