काठमाण्डु-थाई एयर एसियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान थालेको छ ।
आइतवार बिहान ६ बजेर ५५ मिनेटमा थाई एयर एशियाको ए–३२० जहाज चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाज ७ बजेर ४० मिनेटमा बैंकक प्रस्थान गरेको थियो । भैरहवा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी र पर्यटन व्यवसायीले विमान र यात्रुलाई स्वागत गरेका थिए । थाई एयर एशियाले भैरहवाबाट हप्ताको दुई दिन उडान गर्नेछ । अब कात्तिक २३ गतेदेखि हप्तामा दुईपटक नियमित उडानको तालिका छ ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी भाडादर १२ हजार रुपैयाँ छ । थाई एयर एशियाले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने सर्तसहित यसअघि उडान अनुमति फुकुवा गरिएको थियो ।
कात्तिक ११ गते अनुमति बिना काठमाण्डौ आएको थाई एयर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । कम्पनीलाई हप्तामा काठमाडौंबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको हो । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने सर्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको छ ।
विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग राखेका छन् । त्यसका लागि एअरलाइन्स कम्पनीहरुलाई आकर्षित गरेसँगै विमानस्थल प्रयोग गरेर विदेश जानेहरुका लागि विमानस्थलमा स्थापना हुनुपर्ने, सरकारी कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया