साढे ३३ किलो सुन प्रकरण : थाई एरवेजले सात जना कर्मचारी हटायो

साढे ३३ किलो सुन प्रकरण : थाई एरवेजले सात जना कर्मचारी हटायो


काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा मुछिएका आफ्ना कर्मचारीलाई मुद्दा दायर भएको चार महिनापछि थाई एयरवेजले सेवाबाट हटाएको छ ।

जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुनेगरी अवकाश दिएको एरवेजले जनाएको छ । अवकाश पाउनेमा हेमन्त गौतम, गोपाल कुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन् ।

मोरङ जिल्ला अदालतले अधिकांश प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले उच्च अदालत विराटनगरमा निवेदन दिएको भए पनि उक्त मुद्दामा केही दिनदेखि पेसी चढ्दै हट्दै आएको छ।

एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐनअनुसार अवकाश दिइएको जनाएको छ। श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुनबमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिनसक्ने व्यवस्था छ।