प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणलाई द्विपक्षीय बनाउने तयारी

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणलाई द्विपक्षीय बनाउने तयारी

बिमस्टेकमा भाग लिन ओली चैत २० मा बैंकक जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डमा हुने बंगालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) राष्ट्रहरूको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक जाने भएका छन् ।

बिम्स्टेक सम्मेलन चैत २० र २१ अर्थात अप्रिल २ र ३ मा बैंककमा हुँदैछ । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सम्मेलनमा सहभागी हुनेछिन् ।

यसअघि भदौ १९ र २० गते सम्मेलन तय भएको थियो । तर त्यहाँ भएको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरे राजनीतिक संकट उत्पन्न भएको थियो ।

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बिमस्टेक स्थापना भएको हो । सन् १९९७ मा स्थापित बिमस्टेक दक्षिण र दक्षिणपूर्वी एसियाबीच क्षेत्रीय सहयोगलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण संस्था हो । यसमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी सात सदस्य राष्ट्रहरू छन् ।

बिमस्टेकका सबै सदस्य राष्ट्रको जनसंख्या १.७ अर्बभन्दा बढी छ । यसको संयुक्त जीडीपी ४.७ ट्रिलियन डलर छ ।

यस पटक बिम्स्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आपसी सहयोग र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । यसका साथै विगतमा भएका सहमति र सम्झौतालाई थप गति दिने विषयमा पनि छलफल हुने उनले काठमाण्डुपाटीडटकमसँग भने ।

थाइल्याण्डको प्रधानमन्त्री कार्यालय अन्तर्गतको जनसम्पर्क विभागका अनुसार आगामी बिमस्टेक शिखर सम्मेलनमा बैंकक भिजन २०३०, बिमस्टेकको भविष्यका विषयमा छलफल हुनुका साथै बिमस्टेक शिखर सम्मेलन घोषणापत्र जारी हुनेछ ।

सदस्य राष्ट्रहरूले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौता (एफटीए) लाई पनि अन्तिम रूप दिने छन् । यसले सदस्य राष्ट्रहरू बीचको अन्तर–क्षेत्रीय व्यापार र क्षेत्रीय सम्पर्कलाई उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ ।

द्विपक्षीय भ्रमणको तयारी

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनकै क्रममा आफ्नो भूमणलाई द्विपक्षीय बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । बिमस्टेक सम्मेलन सकिएपछि भ्रमणलाई बढीमा १ या २ दिनका लागि द्विपक्षीय बनाउने तयारी मन्त्रालयले गरेको छ । प्रधानमन्त्रीको भ्रमण द्विपक्षीय भ्रमण बन्ने सम्भावना रहेको अधिकारीहरू बताउँछन् ।

त्यस क्रममा नेपाल–थाइल्याण्डबीच केही सम्झौतामा हस्ताक्षर पनि हुनेछ । परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका अनुसार दुई देशबीच सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

नेपाल र थाइल्याण्डबीच हुने सम्झौताको एजेण्डाका विषयमा छलफल भइरहेको छ । सम्झौताको एजेन्डालाई अन्तिम रूप दिइएपछि द्विपक्षीय भ्रमणको औपचारिक घोषणा गरिने छ । भ्रमणका विषयमा दुई पक्ष अझै परामर्शको चरणमा रहेको अधिकारीहरू बताउँछन् ।

बिमस्टेक शिखर सम्मेलनको क्रममा प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणलाई आधिकारिक रूपमा द्विपक्षीय बनाउने नेपालले प्रस्ताव गरिसकेको उनीहरू बताउँछन् । तर प्रवक्ता ढकाल यस विषयमा तत्काल केही बताउन चाहेनन् । ‘आन्तरिक तयारी चलिरहेको छ, अहिले केही टुंग्एिको छैन’, उनले भने ।

द्विपक्षीय भ्रमणका क्रममा नेपालले पर्यटन, संस्कृति र कृषिमा प्राविधिक सहकार्य लगायत माटो परीक्षण, बीउ प्रशोधन, वृक्षरोपण, बजारीकरण र कृषि उत्पादनको विषयमा सम्झौता गर्ने तयारी गरिरहेको छ ।

कृषि आधुनिकीकरण, स्वच्छ ऊर्जा र हाइड्रोजनमा पनि सहकार्य गर्न नेपालले इच्छा देखाएको छ ।