‘महारानी’ बराबर हुन खोज्दा खोसियो राजाकी मुख्य सहयोगीको ‘शाही’ पदवी !

‘महारानी’ बराबर हुन खोज्दा खोसियो राजाकी मुख्य सहयोगीको ‘शाही’ पदवी !


काठमाडौं – थाइल्याण्डका राजा महा वाचिरालोङकोनले आफ्नी मुख्य सहयोगी सिनिनात वोङ वचिरापाकको शाही पदवी खोसेका छन् । सिनिनातले आफूलाई महारानी बराबर पदोन्नति गर्ने कोसिस गरेको आरोप लगाइएको छ । राजा वाचिरालोङकोनकी अत्यन्तै निकट विश्वासपात्र मानिएकी सिनिनातलाई कारवाही गर्दै शाही पदवी खोसिएको चर्चा विश्वभर फैलिएको छ ।

थाइल्याण्डको राजदरबारबाट गरिएको घटनामा भनिएको छ, ‘सिनिनात वोङ धेरै महत्वाकांक्षी थिइन् र उनले आफूलाई रानीको ओहोदा बराबर पदोन्नति गर्ने कोसिस गरिन् ।’ थाइल्याण्डमा राजाकी सहयोगी सिनिनातलाई दिइएको ‘शाही’ पदवी विशेष थियो । तर अब खोसिएको छ ।

राजाले आफ्नी मुख्य सहयोगी सिनिनातको व्यवहार र चालचलनलाई अपमानजनक मानेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत जुलाइमा सिनिनात मुख्य सहयोगी नियुक्त भएकी थिइन् र उनलाई शाही पदवी दिइएको थियो । त्यसको दुई महिना अगाडि मात्रै थाइल्याण्डका राजाले रानी सुतिदासँग चौथो विवाह गरेका थिए । मुख्य सहयोगी सिनिनातले दुई महिना अगाडि मात्रै रानी भएकी सुतिदा बराबरकै पदोन्नति गर्न खोजेको आरोप लगाइएको छ ।

थाइल्याण्डकी रानी सुतिदा ४१ वर्षकी छन् । यसअघि उनी राजाको बडीगार्ड समूहकी उपप्रमुख थिइन् । उनी वर्षाैदेखि राजासँगै सार्वजनिक कार्यक्रममा देखिँदै आएकी थिइन् । कारवाहीमा परेकी राजाकी मुख्य सहयोगी सिनिनात मेजर जनरलको पदसम्म पुगिसकेकी थिइन् । उनी तालिमप्राप्त पाइलट र नर्स समेत हुन् । यसअघि उनी राजाको बडीगार्ड समेत रहिसकेकी थिइन् । विगत एक शताब्दीमा थाइल्याण्डमा ‘रोयल नोबल कन्सर्ट’ पदवी पाउने उनी पहिलो व्यक्ति थिइन् । उनले महत्वपूर्ण पदवी पाएकाले उनको महत्वाकांक्षा बढेको हुनसक्ने विश्लेषण गरिएको छ ।

राजाकी मुख्य सहयोगी सिनिनातको पदवी फिर्ता लिने सम्बन्धी घोषणा सोमबार राजपत्रमा प्रकाशित गरिएको छ । राजाले सुतिदासँग विवाह गरेपछि पनि मुख्य सहयोगी सिनिनात हरेक शाही कार्यक्रममा अतिथि हुने गरेकी थिइन् । ‘गत मईमा भएको राज्याभिषेकअघि सिनिनातले प्रतिरोध देखाइन् र राजीको नियुक्ति रोक्न दबाब सिर्जना गरिन्,’ राजदरबारले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ, ‘राजाले उनलाई शाही पद दिँदा आफूमाथि दबाब कम होस् र राजतन्त्रमाथि आउनसक्ने समस्याको समाधान निकाल्न सहज होस् भन्ने अपेक्षा गरेका थिए ।’ मुख्य सहयोगीले राजा र रानीमाथि विवाद उत्पन्न गराउने र शाही पदवीको दुरुपयोग गर्दै आदेश दिएको आरोप समेत लगाइएको छ ।

राजाले उनका सबै शाही पदवी, सम्मान, गार्डमा उनको दर्जा र सेनाको दर्जा समेत फिर्ता लिएका छन् । बुवाको निधनपछि सन् २०१६ मा वागिरालोङकोन राजा बनेका थिए । उनले हालसम्म चार विवाह गरेका छन् । उनकी पत्नी राजकुमारी तोम्सवली (१९७७–१९९३), युवाधिदा (१९९४–१९९६), सिरात (२००१–२०१४) र हाल सुतिदा रहेकी छन् ।