काठमाण्डु- नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पूर्वराजालाई कारवाही गर्न माग गरेका छन् ।
संविधानले समेत नचिन्ने ‘श्री ५ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै उनले पूर्वराजालाई कारबाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा श्री ५ कहाँ छ भन्दै प्रश्न गरे ।
‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो,’ गैरेले भने, ‘संवाद सचिवका नामबाट प्रकाशित भएको वक्तव्यमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ?’
यस्तो लेख्नेलेमाथि तत्काल कारबाही गर्नुपर्ने उनले माग गरे । ‘यो लेख्न कसरी सकिन्छ? यो लेख्न कसरी सम्भव भयो? यो पाइन्छ कि पाइँदैन । यो संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन’, गैरेले प्रश्न गरे ।
पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गर्दै ‘श्री ५ जानेन्द्र वीरविक्रम शाहदेव’ लेखेका थिए । गैरेले पूर्वराजा शाहसँगै त्यसरी वक्तव्य निकाल्ने संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई पनि कारबाही गर्न माग गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उनको भनाइ छ । जो कोहीले संविधानको सर्वोच्चताको ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया