राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा भीषण आगलागी, १० करोडभन्दा बढी क्षति

राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा भीषण आगलागी, १० करोडभन्दा बढी क्षति


काठमाडौं – राजधानीको पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ ।  ठमेलको अक्सिजन ग्यास सिलिण्डर स्टोरमा बिहान करिब ४ बजे आगलागी हुँदा १० करोड रुपैयाँभन्दा माथि क्षति भएको प्रहरीले अनुमान गरेको छ।

ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका छन् । स्थानीय सुमनमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भई आगालगी सुरु भएको प्रहरी वृत्त दरबार मार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।

आगो लागेको जानकारी हामीलाई पौने ४ बजे आएपछि तुरून्तै घटनास्थल पुग्यौं, १० मिनेटमै दमकल पनि आइपुग्यो । तर, सिलिन्डर पड्किन थालेकाले आगो निभाउन तुरून्तै सकिएन । त्यसैले बढी क्षति भयो’, डीएसपी मल्लले भने ।

आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको डीएसपी मल्लले जानकारी दिए ।