काठमाडौं – थेम्स इन्टरनेसनल कलेजको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता १३ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरू ललितपुरस्थित पुल्चोक क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बि.बि.ए. (व्यवसाय प्रशासन स्नातक) र बि.आइ.एम. (सूचना व्यवस्थापन स्नातक) कार्यक्रमका कलेजहरूबीचको क्रिकेट प्रतिस्पर्धा यस थेम्स इन्टरनेसनल कलेजले जित्दै आएको थियो । यस वर्ष सो प्रतियोगितालाई नयाँ स्वरूप दिई थेम्स प्रिमियर लिग २०७६ को रूपमा आयोजना गर्न लागिएको हो ।
यस प्रिमियर लिगअन्तर्गत काठमाडौँका विभिन्न आठवटा कलेजहरू उपाधिका लागि भिड्दैछन् । यस प्रतियोगितामा पुल ‘ए’ र पुल ‘बि’मा चार–चारवटा टिम रहनेछन् ।
प्रतियोगितामा जम्मा १२ लिग खेल खेलिनेछन् र त्यसैका आधारमा थप दुई सेमिफाइनल र एक फाइनल खेल हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टोलीका सबै खेलाडीलाई क्रमशः गोल्ड मेडल र सिल्भर मेडल प्रदान गरिनेछ ।
उक्त प्रतियोगिताबाट उत्कृष्ट एघार खेलाडीको एउटा सुपरटिम पनि घोषणा गरिनेछ । त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट तीन ब्याटस्म्यान, बलर र अलराउन्डरलाई विभिन्न पुरस्कारहरू पनि दिइनेछ । थेम्स प्रिमियर लिग २०७६ आगामी जेठ २० गतेसम्म चल्नेछ ।
प्रतिक्रिया