काठमाण्डु- तीन दलका शीर्ष नेताहरूको बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै छ ।
सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेताबीच अपरान्ह ४ बजे सिंहदरबारमा छलफल हुने तय भएको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल केन्द्रित रहने छ ।
यसअघि शीर्ष तीन नेताबीच चैत ६ गते नै बैठक गर्ने तयारी थियो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको तराई–मधेस जागरण अभियानका लागि काठमाडौँबाहिर गएपछि भेट हुन सकेन ।
सात महिनाअगाडि नै सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टिआरसी) ऐन बनाएका प्रमुख दलहरू संक्रमणकालीन न्याय टुंग्याउने आयोगहरू गठनको प्रयासमा लागेका हुन् ।
पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधि बढेपछि प्रमुख दलहरू नजिक देखिएका छन् । बैठकमा राजावादीहरूको आन्दोलनका विषयमा पनि नेताहरूबीच छलफल हुनेछ ।
प्रतिक्रिया